धरानः धरानमा फेरि सातदिन लकडाउन थपिने भएको छ । तर केही ‘मोडालिटी’ भने परिवर्तन हुनसक्नेछ ।
लकडाउनको म्याद भोलि नै सकिँदैछ । भदौ १४ गतेसम्म जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि ७ गतेसम्म निषेधाज्ञा गरिसकेको छ । अबको लकडाउन केही सहज हुनसक्ने धरान–१८ का वडाध्यक्ष प्रविण राईले जानकारी दिए । ‘धरानमा समुदायमा संक्रमण अझै जारी छ, लकडाउन १७ गतेसम्म थपिन्छ’, उनले भने, ‘तर केही सहज गर्दै अघि बढ्ने हो कि भन्ने पनि कुरा चलिरहेको छ ।’
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भोलि ८ बजे कार्यपालिकाको बैठक डाकिएको र लकडाउनबारे सामूहिक छलफलपछि निर्णयमा पुगिने बताए । ‘भोलि ८ बजे कार्यपालिकाको बैठक राखिएको र त्यहाँ छलफलपछि पूर्ण निर्णय हुनेछ’, उनले भने ।
धरान–९ का वडाध्यक्ष रत्न कटुवालले लकडाउन थपिने सङ्केत गरे । ‘खासमा धरानमा संक्रमित थपिँदै गएका छन् तर सरकारी निर्देशिका पालना गर्दै लकडाउनलाई केही सहज बनाउनेबारेमा प्रायः वडाध्यक्षहरू एकमत रहेको बुझेको छु’, उनले भने, ‘के लाई सहज गर्ने भन्नेबारे भोलि छलफलपछि निचोड निस्किनेछ ।’ हाल धरानमा समुदायमा समेत कोरोना संक्रमण भइसकेको पुष्टि भइसकेको छ । धरानमा हालसम्म १०७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।