नर्सको समस्या समाधान गर्न समिति
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइसियुमा कार्यरत् नर्सका समस्या समाधान हुने भएको छ ।
आइसियुमा कार्यरत नर्सको समस्या समाधान गर्न ५ सदस्यीय एक समिति गठन गरिएको छ । आन्दोलनरत् नर्स र प्रतिष्ठानका पदाधिकारीहरुसँग वार्ता भएपछि समस्या समाधान गर्न ५ सदस्यीय एक समिति गठन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनले समस्या समाधान गर्न एक समितिले साताभित्र समाधानसहितको रिपोर्ट बुझाउने र रिपोर्ट अनुसार काम गर्ने बताए ।
केहीदिनदेखि कोरोना संक्रमित बिरामीलाई आइसियुमा राख्ने गरिएको भन्दै नर्स र बिरुवा कुरुवाहरू आन्दोलित बनेका छन् । आइसियुमा कार्यरत् नर्स र बिरामी कुरुवाहरूले सोमबारदेखि धर्नालगायतका कार्यक्रम गर्दै आएका छन् । आइसियुमा रहेका बिरामीमाझ पिसिआर टेष्टबिना संक्रमितलाई ल्याइएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएको बताएका थिए ।
‘खासमा आइसियुमा आउनुपर्ने बिरामी पहिल्यै पिसिआर परीक्षणपछि ल्याइनुपर्ने हो तर बिनापरीक्षण ल्याइयो अनि पछि पिसिआर परीक्षण गराउँदा पोजेटिभ समेत देखियो, तीनपल्ट समेत यस्तो भइसकेपछि हाम्रा आफ्ना माग लिएर सोमबारदेखि आन्दोलनमा होमियौं, त्यसपछि आज (बुधबार) समस्या समाधान गर्न समिति गठन भएको छ, अब हेरौं केही हुन्छ होला ।’ जशोदा लिम्बूले भनिन् ।
आइसियुमा राखेर पछि पिसिआर देखिँदा आइसियुमा रहेका बिरामी, बिरामी कुरुवा र नर्स नै जोखिममा पर्ने गरेको उनीहरूको भनाइ छ । ‘यसले गर्दा अन्य बिरामी, बिरामी कुरुवा र नर्स जोखिममा पर्न सक्छन् तर बीपीले लापरवाही गरिरहेको छ’, उनले भनिन् ।
पिसिआर टेष्टबिना बिरामी नल्याइयोस्, कोरोनासँग जुध्ने सामग्री पिपिइलगायतको व्यवस्था गरियोस्, यदि कसैलाई पोजेटिभ देखिए क्वारेन्टाइनको व्यवस्था गरियोस्, फ्रन्टलाइनमा काम गर्नेहरूका लागि उचित जोखिम भत्ताको व्यवस्था होस्लगायतका १६ बुँदे माग राखेर नर्स साथै बिरामी कुरुवासते आन्दोलित बनेका थिए ।
बीपीमा कार्यरत् नर्स र डाक्टरमा कोरोनाको संक्रमण दर बढ्दो छ ।