Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लकडाउनले घटायो बिजुलीको खपत

हाम्रो कोशी आवाज
भाद्र ११ २०७७, बिहिबार
धरानमा लकडाउनले घटायो बिजुलीको खपत

धरानः धरानमा लकडाउन बढेसँगै बिजुलीको माग (लोड) पनि ह्वात्तै घटेको छ ।
बढी विद्युत् खपत गर्ने भनिएको धरानस्थित औद्योगिक क्षेत्र, व्यापारिक भवन, व्यापारिक संघसंस्था, शैक्षिक कार्यालयलगायत अन्य व्यापारी–व्यवसायीको पनि पसललगायत अन्य कार्यालय ठप्प हुँदा बिजुलीको माग घटेको हो ।
उसो त धरानको औद्योगिक क्षेत्र भनिएको तीनकुनेस्थित प्रिति भल्व उद्योगबाट कोरोना फैलिएपछि त्यहाँका केही उद्योग मात्रै चल्ने गरेका छन् । ‘प्रिति भल्वमा कोरोना संक्रमित देखिएपछि त्योलगायत वरपरका अधिकांश उद्योग पनि बन्दी रहेका छन्’, धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता भन्छन्, ‘त्यसको असर त पर्ने नै भयो ।’
विद्युत् लोड बढाउनमा मुख्यरूपमा कलकारखाना, होटल, शैक्षिक संस्थालगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै बिजुली प्रयोग भइरहेकाले अहिले कम विद्युत् खपत अर्थात् माग कम भएको धरानस्थित विद्युत् प्राधिकरणका प्रमुख प्रताप बराल बताउँछन् । ‘लकडाउन शुरु हुनुभन्दा पहिले विद्युतको पिक डिमाण्ड बढी थियो’, उनले भने, ‘अहिले घटेको छ ।’
उनले गर्मीको सिजन भएपनि धरानमा पानी परिरहेको र खासै गर्मी महसुस नभएकोले पङ्खालगायतको प्रयोग कम हुने, काम गर्ने कामदारले पनि काम नगर्ने, अन्य विकास निर्माणका काम पनि नहुने हुनाले पनि कम विद्युत् खपत भएको बताए ।
‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र, शैक्षिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको छ, गर्मी छ तर खासै महसुस गर्नुपरिरहेको छैन’, उनी भन्छन्, ‘त्यही भएर विद्युत् कम प्रयोग भइरहेको छ ।’
उनले घरमा भने विद्युत प्रयोग गर्ने बढेको बताए । ‘धरानमा लकडाउनले घरमा बस्ने बढेसँगै घरमा विद्युत प्रयोग गर्नेको संख्या भने बढदो छ’, उनले भने, ‘घरमा जति चलाएपनि खासै बढी विद्युत खपत हुँदैन ।’

लोड कम हुँदा पनि झ्याप्प झ्याप्प जान्छ बिजुली ?
लोडसेडिङ अन्त्य गरेर सबैको प्रिय बनेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे फेसबुकमा निकै प्रतिक्रिया पनि आए । केहीदिनअघि त फेसबुकमा बधाई दिने पनि ह्वात्तै बढेको थियो । आम जनता कुलमान घिसिङप्रति खुशी देखिए । दोस्रो कार्यकालमा सरकारले नियुक्ति गर्ने प्रसंगलाई लिएर बधाईको ओइरो नै लाग्थ्यो ।
मन्त्रिपरिषदले कुलमानलाई दोस्रो कार्यकालको लागि नियुक्त गरेको भन्दै उत्साहका साथ बधाई दिने र बधाई दिइसकेपछि फेरि अन्यले बधाई दिने क्रम दोहोरिरह्यो । आम मानिसको मन मष्तिस्कमा बसिसकेका उनले आखिर के भएर यस्तो गरे त ? कारण छ–अब बिजुली झ्याप्प झ्याप्प जाँदैन । हुन पनि हो नेपालमा विद्युत् झ्याप्प झ्याप्प गएन नै र गएको छैन पनि ।
तर धरानमा किन गइरहन्छ बिजुली झ्याप्प झ्याप्प ? आम मानिसले अहिले सोध्ने प्रश्न हो यो । अधिकांशले त कुलमान जान लागेछन् अनि बिजुली पनि झ्याप्प झ्याप्प जान थाल्यो भन्ने समेत फेसबुकलगायत सामाजिक सञ्जालमा पोष्ट्याउँदै आएका छन् ।
हुन पनि हो, आजभोलि झ्याप्प झ्याप्प बिजुली जान थालेको छ । यसले गर्दा आमनागरिकको दैनिकीमा नकारात्मक असर परिरहेको छ । लकडाउनमा घरमै बसेर काम गर्नेहरु र अत्यावश्यक सेवा दिनेहरु पनि पटक–पटक बिजुली जाँदा हैरान भएका छन्, काम प्रभावित भएको छ ।
प्राधिकरणका प्रमुख बरालले भने बिजुली नपुगेर बत्ती नगएको तर निकै खराब मौसमका कारण बत्ती गएको जनाए । ‘हावाका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरोध हुन सक्ने हुन्छ, त्यस्तै, हावाका कारण बिजुलीको तार एकआपासमा जुध्ने पनि हुन्छ, त्यसलाई मर्मत गर्न समय लाग्ने हुनाले पनि झ्याप्प झ्याप्प विद्युत् गएकोजस्तो देखिएको हो’, उनले भने, ‘दिनमा धेरैपटक त गएको छैन नि ।’
उनले धरानका सब स्टेशनमा कुनै समस्या नरहेको बताए । ‘सब स्टेशनमा कुनै समस्या छैन, कहिले बाँदरले तार चुटयाइदिन्छ, कहिले हावा आउँदा बिजुलीको तार ठोकिन्छ, यही कारण पनि बिजुली गइरहन्छ ।’ उनले भने । उनले ओभरहेड लाइन भएपछि ‘डिस्टर्व’ भइरहने बताए । उनले धनकुटा, हिले, भोजपुर, तेहथुममा रहेका सब स्टेशन रहेको र त्यहाँ समस्या हुँदा यता पनि समस्या हुने खुलाए ।
के बिजुली गइरहँदा बिल बढी उठ्छ ?
बिजुली गइरहँदा बिजुलीको खपत कम हुन थालेको र बिल बढी उठाउन पनि बिजुली गइरहेको उपभोक्ताले बताउँदै आएका छन् । सामाजिक सन्जालमै अनेकौ पोष्ट्याइन्छ पनि –बिजुली जान थाल्यो, बिल बढी उठाउन होला नि आदि इत्यादि । उपभोक्ताको यस्तो गुनासो पनि सुन्नुभएको होला नि ? प्राधिकरणका प्रमुख बराल भन्छन्–सबै झुट, कहिल्यै त्यसरी बिल बढ्दैन । बिजुली काटिरहँदा प्राधिकरणलाई घाटा हुन्छ किनभने बत्ती काटेको काट्यै गर्दा मेसिन बिगञ्ने समस्या पनि रहन्छ ।
धरानमा कस्तो छ कुलमानको चर्चा ?
धरानमा पनि मङ्गलबार लोडसेडिङ अन्त्य गरेर सबैको प्रिय बनेका घिसिङबारे फेसबुकमा निकै बधाई आए । उनी नियुक्ति भएको समाचार पुष्टि नभएपनि त्यतिकै बधाईको ओइरो आएको प्राधिकरण धरान शाखाका प्रमुख बराल बताउँछन् । ‘राम्रो मान्छेको लागि सबैले मरिमेटिहाल्छन् नि,’ उनले भने, ‘उहाँकै कारण नेपालमा बिजुलीको अवस्था यतिको भएको हो ।’ फेसबुक नियालिरहेको बताउँदै उनले साँच्चै अहिले धरानेमा पनि कुलमानप्रतिको आशक्ति झल्किएको बताए ।
धराने अधिकांशले पनि फेसबुक प्रोफाइलमै ‘तिमी छौ र त उज्यालो छ’ भाषामा लेखिएसँगैको फोटो टाँस्ने समेत गरेको पाइएको छ । ‘यस्तो लहर अहिले छ’, उनले भने, ‘यो पनि उज्यालो नेपालका अभियन्ता घिसिङप्रतिको आशक्ति र फ्यान बनेको संकेत हो, भनौं उनी आम मानिसको मन मष्तिस्कमा बसिसकेका छन् भन्ने गतिलो उदाहरण हो बधाई दिनु र प्रोफाइलमा समेत राख्नु ।’
उनले धरानको मात्रै कुरा गर्ने हो भने पनि धराने जनता अब लोडसेडिङ हेर्न नचाहेको बताउँछन् । ‘खासमा यो देशमा कुलमान बाहिरिए के होला, कसो होला, फेरि लोडसेडिङ पो होला कि भन्ने धराने मानसपटलमा घुमिरहेको छ,’ उनी भन्छन्, ‘यही भएर पनि यहाँ कुलमानजस्ता व्यक्ति चाहिन्छ भन्ने जनताको भावनाले प्रष्ट देखाइसकेको छ, त्यही भएर उहाँप्रतिको क्रेज बढेको हो, प्रोफाइलमा समेत उनको फोटो राख्न थालिएको हो ।’

प्रकाशित मिति: भाद्र ११ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend