धरानः केही महिनाअघि धरानलगायत देशभरका शिक्षक भोकभोकै छौं, खान देऊ भन्दै आन्दोलनमै उत्रिए । धरानलगायत सुनसरीका निजी विद्यालयका शिक्षक भोकभोकै छौं भन्दै इटहरी उपमहानगरपालिका अगाडि पुगेर प्रदर्शन पनि गरे । तर पार लागेन ।
‘हामी भोकभोकै छौं, खान देऊ भन्दा पनि कुरै सुनिएन’, संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) सुनसरीका सचिव शम्भु रेग्मीले भने, ‘तलब नदिएपछि ऋण गरेर पनि घर व्यवहार चलायौं तर अझै सुनुवाइ नभएपछि केहीदिनपछि हामी धरान उपमहानगरपालिकामा डेलिगेशन जाँदैछौं ।’
वैशाखदेखि एक पैसा पनि तलब नपाएको उनीहरूको भनाइ छ । निजी विद्यालयमा कार्यरत् शिक्षक, कर्मचारी तलब माग्दै प्रदर्शनमा उत्रिएपनि खासै समस्याको समाधान नभएको जिल्ला सदस्य आकाश भाटीले जानकारी दिए । ‘हाम्रा लागि सरकार कहाँ छ, हामी अभिभावकप्रति प्रतिबद्ध छौं, हाम्रो तलबको व्यवस्था गरलगायतका नारासहितको प्लेकार्ड बोकेर यसअघि प्रदर्शन गरिएको थियो तर समस्याको समाधान हुन सकेन ।’ धरानका केही विद्यालयले तलब दिएपनि धेरैले नदिएको उनले जानकारी दिए ।
‘विद्यालयलाई पनि समस्या होला तर अभिभावकको भूमिका निर्वाह गरिदिनुपर्छ भन्ने हाम्रो माग हो’, सचिव रेग्मी भन्छन् । अहिलेसम्म निजी विद्यालयका शिक्षक, कर्मचारीका समस्याबारे सरकारकै चरम लापरवाही भएको उनले बताए । सचिव रेग्मीले शिक्षक, कर्मचारीले चैतअघि र चैतपछि तलब नपाएको गुनासो पोखे ।
‘निजी विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीहरूले विगत चार महिनायता पनि तलब नपाएको अवस्था छ, विभिन्न विद्यालयहरूले शिक्षक–कर्मचारीहरू धमाधम निकाल्न थालेको, राज्यले पनि यसतर्फ कुनै चासो नदेखाएकोले हामी आन्दोलित बनेका हौं’, उनले थपे, ‘बिनातलब भोकभोकै मर्ने अवस्थामा आइपुग्दा पनि विद्यालय सञ्चालकहरू चुप लाग्नु अर्को आश्चार्यको कुरा हो ।’
धरान नगर कमिटीका उपाध्यक्ष संगीत श्रेष्ठले लकडाउनको बहानामा शिक्षकहरू निकालिनु परेको पीडा साथै तलब नपाएर पीडा खपिरहनुपरेको बताए । ‘खासमा शिक्षक पनि निकालिन्छन् अनि तलब पनि दिइँदैन, यो कहाँसम्मको न्याय हो ।’ उनले निजी विद्यालयका शिक्षक निरीह प्राणी हुनुपरेको बताए । ‘एकातिर जागिर जाला कि भन्ने चिन्ता, अर्कोतिर शिक्षक पनि आन्दोलनमा जानुपर्ने भन्ने अवस्था छ, हामी निरीह प्राणी नै हौं, न हाम्रो बारेमा कोही बोलिदिन्छ न हामी बोल्न सक्छौं ।’ अझै स्कुल नलाग्ने लकडाउन खुकुलो नै भएपनि यसरी नै जाने हो भने रोगले भन्दा पनि भोकले ज्यादा मर्ने सम्भावना रहेको उनले बताए । ‘हाम्रा पनि परिवार छन्, हामी पनि त्यही तलबले नै बाँचेका छौं तर त्यही नपाएपछि अवस्था के होला ?’ उनले भने ।
निजी विद्यालयहरूले हाल शिक्षकहरूलाई तलब नदिएकै कारण युवा शिक्षकहरूमा निराशा छाएको छ । ‘श्रीमती गृहस्थ सम्हाल्छिन्,’ उनले भने, ‘मेरै तलबले घर चलेको छ । त्यो तलब पनि नपाउँदा बालबच्चाको लालनपालन गर्न निकै धौधौ परेको छ ।’ सदस्य भाटीले थपे, ‘स्कुललाई तलब माग्न सम्पर्क गर्दा समेत सञ्चालकहरू सम्पर्कविहीन हुन्छन् ।’
उता निजी विद्यालयका सञ्चालकहरूले भने आफूहरूले शूल्क उठाउन नपाएकोले शिक्षकहरूलाई तलब दिन नसकेको बताउँछन् । ‘स्कुलहरूले वर्षौदेखि कम्पनीमा दर्ता भएर नाफा कमाउँदै आएकै छन् । तर पनि कोरोना संक्रमणको तीन–चार महिना पनि धान्न नसक्ने सुन्दा दुःख लाग्छ,’ सचिव रेग्मीले यथार्थमा भने, ‘स्कुलसँग तलब माग्दा शुल्क उठाएको छैन । तलब दिन गाह्रो छ भन्ने जवाफ दिन्छन् ।’ उनले भने, ‘विद्यालय नै नखुलेपछि तलब दिने भएनन् । दैनिकी चलाउन पनि समस्या हुन थालेको छ ।’ राज्यले विभिन्न क्षेत्रमा सहयोग गरे पनि निजी विद्यालयका शिक्षकलाई नहेरेको उनले गुनासो गरे ।