बिर्तामोडः झापामा एक युवाको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ ।
शिवसताक्षी नगरपालिकामा एक व्यक्तिको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको हो ।
सताक्षीधाम जाने सडकमा बुधबार बिहान सोही ठाउँका २८ वर्षीय गोमनसिंह मगरको घाँटीका साथै शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
शिवसताक्षी नगरपालिका–११ मा हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले फालिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थललाई सुरक्षित गर्ने काम गरिएको र संघीय इकाई प्रहरी कार्यालय धरानबाट कुकुर ल्याइँदै गरेको र कुकुरले घटनाको विषयमा अनुसन्धान गर्ने उनले जानकारी दिए ।
उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । ‘घाँटी, शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको देखिएको छ’, उनले भने, ‘प्रहरीले सो बारेमा अनुसन्धान थालिसकेको छ, यसका लागि कुकुर पनि झिकाइसकेका छौं ।’ उनी हिजोदेखि हराइरहेका थिए । स्थानीयवासीका अनुसार घटनास्थल नजिक फेला परेको मोटरसाइकल करिब १ महिनादेखि उनले नै चलाउँदै आएका थिए।