बिर्तामोडः केही दिनअघि शिवसताक्षीको रतुवामाई आयोजनाको जंगलमा भएको २८ वर्षीय गोमनसिंह मगरको हत्यामा उनकै मिल्ने साथी संलग्न भएको प्रहरीले पत्ता लगाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले फालिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गोमनसिंहको हत्यामा बहराइनमा बस्दाका साथी मनकुमार लिम्बू संलग्नता रहेको खुलेको छ । अभियुक्त लिम्बू पक्राउ परेपछि प्रहरीले सार्वजनिक गरेको छ । बहराइनबाट फर्केका दुवपै बीच लेनदेन कारोवारमा विवाद रहेको र सोही निहुँमा मनकुमारले आफ्नै साथी गोमनसिंहको हत्या गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीसमक्ष मनकुमारले झिलझिले बजारमा फोनबाट बोलाएर मोटरसाइकल चढेर राजमार्गभन्दा एक किलोमिटर उत्तर जंगलमा गएको र त्यही धारिलो छुराले साथीको घाँटी रेटेर हत्या गरेको बयान दिएका छन् ।
प्रहरीका अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए । आरोपी लिम्बू पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् । दुईजनाबीच लेनदेनको विवाद हत्यासम्म पुगेको देखिएको प्रहरीले जनाएको छ ।
लिम्बूले सो दिन साँझ ६ बजे घरबाट निस्किएका मगरलाई झिलझिले बजारमा भेटेको पाइएको छ । प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकलमा चढाएर उनले मगरलाई एक किलोमिटर उत्तरमा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलतिर लगेको अनुसन्धानबाट खुलेको छ । हत्यापछि लिम्बू भोलिपल्ट बिहानै मृतकको घरमा समेत पुगेका थिए । उनले हराएका मगरलाई खोज्न समेत मद्दत गरेको समेत स्थानीयको भनाई छ ।




पक्राउपछि लिम्बूले जंगलमा लगेरे छुराले घाँटी रेटेर मगरका हत्या गरेको स्वीकारेका छन् । प्रहरी बयानमा मगर र लिम्बूले प्रयोग गरेको गरी दुईवटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको छ । प्रहरी अधिकृतहरुका अनुसार बरामद मोबाइलसहित अन्य प्रमाणको प्राविधिक विश्लेषणले पनि घटनामा लिम्बूको संलग्नता पुष्टि भएको छ ।
प्रहरी के भन्छ ?
जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं. ११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डको किनारमा एकजना पुरुष मानिसको लास घाटी काटिएको अवस्थामा रहेको छ भन्ने खबर इप्रका झिलझिले झापामा प्राप्त भए पश्चात प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी १ नं. प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समूहको टोली, जिल्ला प्रहरी कार्यालय झापाको टोली समेत अनुसन्धानमा खटिएको, अभियुक्तको खोजीको लागी संघीय प्रहरी ईकाई कार्यालय धरानबाट डग शाखाको केनाइन टोली समेत घटनास्थलमा झिकाई अभियुक्तको खोजतलास गरिएको थियो ।
अनुसन्धानको क्रममा अनुसन्धान टिमले विपभिन्न ब्यक्तिसँग सोधपुछ गरेको, सूचना संकलन गरिएको, सूचना संकलनको क्रममा निज गोमनसिंहको गत १६ गते साँझको अं. १८ः३० बजेको समयमा घरबाट साथीलाई भेट्न जान्छु भनी निस्केको र सम्पर्क विहीन भएको, घटना सम्बन्धमा प्राविधिक रुपमा सुक्ष्म तरिकाले निरन्तर रुपमा अनुसन्धान पश्चात जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं. ८ बस्ने वर्ष ३२ को मनकुमारलाई १९ गते पक्राउ गरियो ।
सोधपुछ गर्दा निजले मृतकलाई १६ गते अं. १८ः३० बजेको समयमा भेट्न बोलाई निजहरु भेट भए पश्चात गोमनले चलाएको मोटरसाइकल बसी बेलुकाको हावा खाई फ्रेस हुन सताक्षीधाम मन्दिरतर्फ जाऔ भनी मोटरसाइकल बिस्तारै चलाउन लगाई लिएर गई हालको घटनास्थलमा पुग्ना साथ मोटरसाइकल चलाइरहेकै अवस्थामा पछाडीबाट निजले साथमा लुकाइ बोकेको धारिलो हतियार कर्द प्रयोग गरी गोमनसिंको घाँटीमा रेटी काटेको र गोमनलाई मोटरसाइकल सहित सडकमा लड्न पुगेकोमा बाटो सडकमा लडेको मोटरसाइकललाई कोही कसैले नदेखोस भनी केही पर लगी बाटो सडकदेखि पुर्वपट्टि जंगलमा लगेर लडाइदिएको उनले बयान दिएको प्रहरीले जनाएको छ ।
सडकमा लडेका गोमनसिंह पुनः घाँटीमा पटक पटक कर्दले प्रहार गरी मारेर सडकको नालीमा फालेको र घटनासँग सम्बन्धित सबुद प्रमाणहरु (मृतकले साथमा बोकेको आइफोन मोबाइल, धारिलो हतियार कर्द र आफ्नो मोबाइल) झिलझिलेको खोलामा फालेको उनले बताएका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा घटनाको कारण निजहरुबीच आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाब देखिएको, घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प अनुसन्धान गर्न पक्राउ परेका अभियुक्त मनकुमारलाई भोली आइतबार झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिने तयारी भइरहेको प्रहरीले जनाएको छ । कसुर मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको कसुर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही दफा बमोजिम जन्मकैदसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

मृतक गोमनसिंह ।