खोटाङः जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयका दुई वृद्धवृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ ।
७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका ३३ वर्षीय दुर्गाबहादुर राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले सार्वजनिक गरेको हो ।
यसअघि दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । जंगल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर र उनकी ६७ वर्षीया बहिनी गोपीमायाको शव उनीहरुको आफ्नै घरमा फेला परेको थियो ।
श्रेष्ठ दाजुबहिनीको हत्या भएको तीन दिनपछि स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई जानकारी दिएको आधारमा खोटाङका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद चिमरियाको टोलीले अभियुक्तलाई भदौ २० गते नै पक्राउ गरेको थियो । घटनालगत्तै भागेर सोही गाउँपालिकाको वडा नम्बर–२ बोपुङ पुगेका अवस्थामा पक्राउ परेका राईलाई भदौ २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएको थियो ।
पक्राउ परेका राईले पैसा सापटी माग्दा नदिएको झोकमा आफूले श्रेष्ठ दाजुबहिनीलाई खुकुरी प्रहार गरेर हत्या गरेको स्वीकारेको डिएसपी चिमरियाले बताए । अभियुक्तले मादक पदार्थ सेवन गरेर राति १२ बजे उनीहरुको घरैमा गएर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ ।