धरानः कुलमान घिसिङको कार्यकाल थप नगरेको विरोधमा धरानमा विरोध प्रदर्शन शुरु भएको छ ।
धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा प्रदर्शन भएको हो । नेपाललाई लोडसेडिङमुक्त बनाएका कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति नगरेको भन्दै धरानमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीले पुनः घिसिङलाइ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न माग समेत गरे । हटयो देशको तुवाँलो, कुलमान देशको उज्यालो, भञ्ष्टहरू पटकपटक, कुलमान किन एकैपटक लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका उनीहरूले सरकारको विरोध समेत गरेका थिए ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष पूरा गरेका कुलमानको कार्यकाल सरकारले थप गरेन । कार्यकाल थप नगरेपछि उनी मंगलबारदेखि विद्युत प्राधिकरणबाट विदा भएका छन् ।
प्रदर्शन अभियानका अभियन्ता हर्क साम्पाङको नेतृत्वमा भएको थियो । नेपालमा १८ घण्टासम्म दैनिक लोडसेडिङ भइरहेको बेला प्राधिकरणमा नियुक्ति पाएका घिसिङले लोडसेडिङ अन्त्य गरेको र संस्थालाई नाफामा लगेकोले उनको समर्थन गरिएको उनी बताउँछन् ।



