उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित फत्तेपुरबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।
उनीहरूसँगै श्रीमान–श्रीमती पनि पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
पक्राउ पर्नेमा त्रियुगा–१२ का १९ वर्षीय रजामुदिन अन्सारी, २० वर्षीय मिलन विश्वकर्मा, वर्ष २० कै सागर पौडेल, २२ वर्षीय शिव अधिकारी, वर्ष २२ कै विशाल मगर र २४ वर्षीय दिलीप घिमिरे रहेका छन् ।
विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई फत्तेपुरबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणपश्चात् उनीहरूमाथि चेकजाँच गर्दा फेनारगन ३५ एम्पुल, डाइजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागूऔषध फेला पारी बरामद गरेको हो । यसैगरी उनीहरूले प्रयोग गर्ने स१प ३२२४ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ ।
यस्तै, उनीहरूलाई पक्राउ गरिएसँगै अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले नै उदयपुर त्रियुगा–६ लालपत्ताबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कृष्ण सवरमका ३१ वर्षीय प्रवेश मियाँ र २६ वर्षीया हजारुम खातुन रहेका छन् । उनीहरू श्रीमान–श्रीमती रहेको खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट फेनारगन ६० एम्पुल, डाइजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल लागूऔषध फेला पारी बरामद गरेको हो । यसरी लागूऔषधसहित पक्राउ परेका आठैजनाउपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।