धरानः धरानको भानुचोकस्थित पूर्वी पहाड चढ्ने सार्वजनिक सवारीको स्टेण्ड (टिकट काउन्टर छेऊ) तीन चार बजेदेखि लगभग खाली हुन्छ । त्यहीँ एक परिवारको गुजारा चलेको छ । त्यहाँ हुन्छ– एउटा सवारी साधन अर्थात् सुपर गाडी छ । त्यही सवारी साधन (गाडी) मा बिक्री हुन्छ विशेषतः फ्राइ राइस, मःम, चाउमिनलगायतका हाइजेनिक फुड । ‘मोबाइल क्याफे’ नाम दिइएको सो गाडीका परिकारको ग्राहकले स्वाद थाहा पाएर पल्किइसकेका छन् ।
तीन चार बजेदेखि राति लगभग ९ बजेसम्म ग्राहकको पर्खाइमा बसिरहेका हुन्छन्–धरान–१५ निवासी लोक तामाङ । उनलाई साथ दिँदै आएकी छिन् श्रीमती गंगा तामाङले । जहाँ उनले यहाँ व्यापार गरेर जीवन निर्वाह गरिरहेकोको लगभग ७ वर्ष भइसकेको छ । उनको व्यापार गर्ने ठाउँ र ग्राहक पनि नियमितजस्तै छन् ।
उनले यसरी सवारी साधन (गाडी) राखेर भानुचोकमै व्यापार थालेको २०७१ सालदेखि हो । उनी त्यो गाडीमा दिनहुँ मःम चाउमिन, फ्राइ राइस, बर्गर, केक, ससेज हाइजेनिक फुड बेच्छन् । शुरुमा उनले ‘कन्सेप्ट’ ल्याएका थिए– आउने ग्राहकलाई फ्राइ राइस बेच्ने सफल पनि बने । तर धेरै गञहकले धरानमा मःम, चाउमिनलगायतका परिकार खान रूचाउने भनेर त्यस्तो खाजाको परिकार पनि बनाउन सुझाएपछि उनले यस्तो व्यापार पनि शुरु गरे । ‘खासमा शुरुमा फ्राइ राइस चखाउन भनेर लागें, त्यो खुबै रुचाइयो’, उनले भने, ‘तर अहिले मःम र चाउमिन पनि बिक्री गर्छु ।’ गाडीमै गरेको व्यापारले आफू र आफ्नो परिवारको पेट पाल्दै आएको उनी बताउँन् ।
कसरी ‘कन्सेप्ट’ आयो यस्तो व्यवसाय गर्ने ?
शुरूमा उनी धरानमा कोठा भाडामै बस्थे । यात्राको लागि एकपल्ट सिङ्गापुर जाने मौका पाए । २०५४ सालमा सिङ्गापुर पुग्दा उनले समुन्द्रको किनारमा यस्तो व्यवसाय खुब जमेको देखे । ‘खुब जमेको व्यवसायमा मैले पनि फाष्टफुड किनेर खाएँ, साह्रै मिठो लाग्यो, त्यतिबेला नेपालमा पनि केही गर्न सकिन्छ भनेर सोचिरहन्थें’, उनले खुलाए, ‘तर म सँग पर्याप्त लगानीको लागि रकम थिएन, सोंचे सोंचे त्यो सपना त्यतिकै सकियो । तर पछि काम खोज्दै दुबई पुगें । अलि अलि पैसा कमाएर फर्किएँ, त्यही रकम थपथाप गरेर यो व्यवसाय गरें ।’
०६३ देखि ०६६ सालमा विदेश बसेका उनले त्यतिबेला नै परिश्रम भन्ने कुरा बुझिसकेको थिए । ‘त्यतिबेला मैले विदेशमा धेरै दुःख गरें तर म पनि स्वदेश फर्किएपछि केही गर्छु भन्ने अठोट पालें’, उनले थपे, ‘त्यही भएर शुरुको लगानी विदेशकै लगानीबाट शुरु गरेको हुँ ।’ दुःख भने निकै गर्नुपर्ने यो व्यवसायबाट उनी ५ जनाको परिवारको जीविकोपार्जन गर्दै आएका छन् ।
कस्तो छ कमाइ ?
उनी खुलस्त भन्छन्– लकडाउन नभएको भए धेरै प्रगति गरिसकेको हुन्थें तर लकडाउनले हालत बनाइदियो । ‘लकडाउन हुनुअघि दिनको १२ हजार कमाउँथे’, उनले भने, ‘१२ हजारमध्ये खर्च कटाएर ४ देखि ५ हजार रूपैयाँसम्म आम्दानी गरेकै हुन्थें, अहिले त दिनमा १ हजार रूपैयाँ पनि बस्न मुस्किल छ ।’
उनको आश भने मरेको छैन । ‘लकडाउन गर्दा व्यापार जुन रेसियोमा हुनुपर्दथ्यो, त्यो भएको छैन, अब बजार लयमा फर्किँदैछ’, उनले भने, ‘लकडाउनपछि अब केही सुधार हुने आशा छ ।’
व्यापारबाटै छोरीलाई इन्जिनियरिङ, अन्यलाई बोर्डिङ
उनले यही व्यापारबाटै हाल छोरीलाई इन्जिनियरिङ पढाउन सफल भएका छन् । ‘एक छोरी इन्जिनियरिङ पढाइरहेको छु, यो भन्दा सन्तुष्टि जीवनमा के हुन्छ होला’, उनले थपे, ‘अन्यलाई बोर्डिङ पढाउँदै आएको छु ।’ उनले व्यापारबाटै जग्गा जोडेर धरान–१५ मा घर पनि बनाएको जानकारी दिए ।
विदेश पुगेर पाठचाहिँ सिकें
किनभने परिवारसँगै बसेर जीविकोपार्जन गर्न सकिन्छ आदि इत्यादि कुरा विदेश पुगेर सिकेको हुँ । अहिले विदेशमा युवापुस्ताले त्यतिकै श्रम खर्चेको देख्दा उनलाई उदेक लाग्छ रे । ‘म पनि विदेशमा पुगेकै हुँ, खासमा विदेशमा नेपालीहरूले श्रम बगाएको पटक्कै मन पर्दैन’, उनले भने, ‘म ठोकुवा गरेर भन्छु विदेशमा श्रम गरेर देश प्रगति र समृद्धिपथमा लाग्दैन, युवाले देशमै केही गर्नुपर्छ, देशमै सबैले केही गर्न खोजे हुन्छ ।’
विदेशमा श्रम फ्याँक्ने युवाका लागि नेपालमै केही सकुन् भनेर सरकारले नीति ल्याए विदेशमा रोजगार खोज्न जानु नपर्ने उनको भनाइ छ । ‘आफ्नै देशमा केही गर्नुपर्छ भन्ने कुरा सरकारले बुझिदिए पुग्छ’, उनले भने ।
फोटोः हाम्रो कोशी आवाज






