Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा परिवारै संगीतमा (भिडियोसहित)

हाम्रो कोशी आवाज
असोज १५ २०७७, बिहिबार
धरानमा परिवारै संगीतमा (भिडियोसहित)

धरानः ‘पोथी बास्नु हुँदैन’ भन्ने कविता लेखेर साहित्य क्षेत्रमा चर्चित बनेकी धरानकी साहित्यकार कुन्ता शर्मा आफैंमा नौलो नाम होइन । उनले साहित्य क्षेत्रमा कलम चलाएरै पुरस्कार जितिन् र नाम कमाइन् ।
उनका तीनभाइ छोरा छन् । ती सबै सङ्गीतमा छन् । जसले धरानलगायत देशविदेशसम्म नाम कमाएका छन् । धरानका सृजन, रोशन, प्रशान्त शर्माको नाम अहिले चर्चामै छ । बुबा मञ्जुल पनि कवि तथा गायक रहेका थिए ।
सृजन राम्रा गायक, सङ्गीतकार, गितारिष्ट, रेकर्डिस्ट र एरेन्जरका रूपमा चिनिन्छन् भने, रोशन बिनावादक हुन् । त्यस्तै, प्रशान्त गायकका रुपमा परिचित छन् । उनी धरानमा मन पराइएका र पूर्वमै जम्दै आएका गायक हुन् । ‘खासमा परिवारै पनि साहित्य र सङ्गीत क्षेत्रमै रमेको हुनाले पनि अहिले पारिवारिक माहौल नै सङ्गीत र साहित्यमै झुमेको हो’, साहित्यकार शर्मा भन्छिन् । बुबा कवि तथा गायक मञ्जुल र आफू साथै रामेश श्रेष्ठहरूसँगै साहित्य र संगीतमार्फत् जनता जगाउन हिँड्ने गरेको उनी बताउँछिन् ।
सृजन सानैदेखि गाउन, कविता लेख्ने गर्दथे । साङ्गीतिक क्षेत्रमा २०४८ सालमा होमिएका सृजनले त्यही सालमै रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरेको बताउँछन् । ‘परिवारले जे आनन्द आउँछ, जे गर्न आउँछ त्यही घर भनिदिन्थे’, उनले भने, ‘हामीले किन्न नसक्ने सङ्गीतका सामग्री पनि आमाले किनेर दिनुभयो ।’ सानैदेखि आमा साहित्य क्षेत्रमा लागेको हुनाले उहाँले बुझिदिएको उनले बताए ।
त्यतिबेलै उनले ‘म सानो झरी हुँ’ लगायत चार वटा गीत पनि रेकर्ड गराएका थिए । उनले प्राश्ना शाक्य, नवीन के भट्टराईलगायतको गीतमा गिटार बजाएको बताए । उनी र उनको भाइ रोशन मिलेर ‘भ्वाइसेस धरान’ पनि निकालेका थिए । रोशन नेपालमा ‘ऊर्जा नेपाल’ ब्यान्डमा आबद्ध रहेर काम गरेका छन् । अहिले उनी धरानमै साधनारत छन् ।
२०५६ सालमा एसएलसी दिएर काठमाडौंमा पुगेका प्रशान्त काठमाडौं पुगेर पनि सङ्गीतमै रमे । प्रशान्त २०७० सालदेखि धरानकै द आउटसाइडर ब्यान्डमा भोकलिष्ट बनेर आबद्ध भए । धरानमा युवापुस्तामाझ चिनिएका उनी विदेशसम्म पनि पुगेका छन् । उनले उर्जालगायतका ब्याण्डमा पनि काम गरेका छन् । उनी पछि उर्जा ब्याण्डमा आवद्ध बने ।

कुन्ताको त्यो उचाइँ
पोथी बास्नु हुँदैन’ भन्ने कविता लेखेर चर्चित बनेकी धरानकी साहित्यकार कुन्ता शर्मा फेरि १ लाख रूपैयाँ पुरस्कारसहित सम्मानित भएकी छिन् । उनको २०७५ सालमै छापिएको ‘मेरो मान्छे’ काव्यकृतिले भर्खरै अन्तर्राष्ट्रिय पुरस्कार पाएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट उनले पुरस्कारसहित नगद १ लाख पनि पाइन् ।
उनले यसअघि एक लाखकै योगमाया सङ्घर्षशील नारी स्रष्टा सम्मान पनि पाइसकेकी छिन् । उनले लोकेन्द्र शाह स्मृति पुरस्कार, व्यथित काव्य पुरस्कार, पारिजात सिर्जन पुरस्कार, केवलपुरे प्रतिभा सम्मान, प्रेस काउन्सिल पत्रकारिता पुरस्कार, बबरसिंह थापा स्मृति पुरस्कार, हरिहर शास्त्री सावित्रीदेवी पुरस्कार, साहित्य सन्ध्या पुरस्कार, कस्तुरा सङ्घर्षशील नारी स्रष्टा सम्मानजस्ता दर्जनौं सम्मान पाइसकेकी छिन् ।
पोथी बास्नु हुँदैन भनेर तहल्का मच्चाएकी उनले यो कविता नै उनको ब्रान्डेड कविता हो । २०४२ सालमा लेखेको उनको कविताको गर्जन अहिले पनि देशविदेशसम्म घन्किन्छन् । सानै हुँदा एउटा पोथीको हत्या भएको थियो रे । ‘कुखुरी काँ’ गरेर पोथी बासेपछि हत्या भयो रे । त्यो देखेपछि उनलाई कविता फुरेको र लेखेको उनले बताइन् । सम्वत् ४० को दशकमा एउटा कविताले तरङ्ग नै ल्याएको थियो, ‘पोथी बास्नु हुँदैन’ । र, अहिले पनि यो कविताले नै उनी चिनिएकी छिन् ।
‘महिलाहरुले उन्मुक्त हाँसो हाँस्नु हुँदैन र पोथी बास्नुहुँदैन । उनको कविताको एक अंश हो । साहित्यकार शर्माको ‘पोथी बास्नुहुँदैन’ अहिले पनि सान्दर्भिक रहेको उनी ठान्छिन् । उनी अहिले पनि पुरुषकै मुनि बसिरहेका छन् पोथी भन्छिन् । यो कवितामार्फत शर्माले पुरुषवादी सोचमाथि प्रहारमात्रै गरेकी छैनन्, मौनता साँधेर बस्ने महिलालाई प्रतिरोधको स्वर निकाल्न आह्वानसमेत पनि गरेकी छन् । ०४२ सालमै प्रकाशित यो कवितापछि नेपालमा थुप्रै महिला आन्दोलन भए । राजनीतिक परिवर्तन र अधिकारको लडाईं चल्यो । देश सङ्घीयतामा गइसकेपछि अहिले सबै स्थानीय तह र प्रदेशमा महिलाको सिट सुरक्षित भएको छ । तर, ‘पोथी बास्नुहुँदैन’ व्यङग्यात्मक र विद्रोही कविता लेखेकी शर्मा अब झन् धेरै लेख्ने र बोल्ने बेला आएको बताउँछिन् । अहिले देशका विभिन्न तहमा महिलालाई सुरक्षित गरिएको ठाउँप्रति असन्तुष्टि जनाउँदै कुन्ता भन्छिन्, ‘अहिले जताततै पोथीहरु बासिरहेका छन् । तर, जति पनि पोथीहरु बासिरहेका छन्, ती पुरुषकै अन्डरमा बासिरहेका छन् ।’ पूर्व सांसद् समेत उनी अहिलेको राजनीति कमाउधन्दाको भएकाले राजनीतिप्रति त्यति चासो राख्दिनन् । ‘अहिले म राजनीतिबाट पुरै टाढा छु’, उनले भनिन्, ‘बरु लेखनतिरै जोड गर्दैछु, म रहुञ्जेल लेखिरहने नै हो । अहिले पनि म लेख्दैछु ।’

 

प्रकाशित मिति: असोज १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend