Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका तीर्थ निरौलाको एकल कला प्रदर्शनी

हाम्रो कोशी आवाज
असोज २४ २०७७, शनिबार
धरानका तीर्थ निरौलाको एकल कला प्रदर्शनी

धरानः नेपाली कलाको क्षेत्रमा स्थापीत, परिचित कलाकार एंव कला लेखक तीर्थ निरौलाको शनिबारका दिन ‘पृथक’ नामक एकल भर्चुअल चित्रकला प्रदर्शनीको प्रिमियम सो भयो । ललितपुरमा अवस्थित रहेको क्लासिक ग्यालरीको आयोजनामा भएको यो प्रदर्शनी सोही ग्यालरीको आधिकारिक युटुव च्यानल, इन्स्टाग्राम, फेसबुक लगायतका सोसियल मिडिया साइटहरुमा देख्न सकिने छ ।
प्रदर्शनीमा तीर्थ निरौलाले विविध विषयवस्तुलाई आत्मासात गरेर बनाएका २२ चित्र कृतिहरु राखिएका छन् । कलाकृतिहरु एक्रेलिक, कलम र मसी, मिक्षण विधी, आदि माध्यमहरुमा बनाइएका छन् । निरौलाका चित्रको विषयहरु प्रायः गणेश, नारी, प्रकृति, शान्ति र अन्तर मनोभावनामा केन्द्रिकृत रहेको देखिन्छन् ।
धरानबाट कलाकर्म सुरु गरेर राष्ट्रिय रुपमा नै आफ्नो नाम बनाएका निरौलाले कलाकर्म गरेको तीन दशक नाघिसकेको छ । यसबीच उनले अनगिन्ती कलाहरु रचना गरिसकेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं विविध सम्मानले विभूषित भइसकेका छन् । राष्ट्रिय कला पुरस्कार, राष्ट्रिय लेखन पुरस्कार, अरनिको राष्ट्रिय युवा कला पुरस्कार, क्षेत्रीय उत्कृष्ट कला पुरस्कार, कला एजुकेटर पुरस्कार अमेरिका, धरान सम्मान, धरान साहित्य महोत्सव सम्मान लगायत थुपै पुरस्कार र सम्मानहरु उनले प्राप्त गरेका छन् । राष्ट्रिय एवं अन्तराष्ट्रिय क्षेत्रमा १० पल्ट एकल र दर्जनौ पल्ट सामूहिक कला प्रदर्शनी लगाएका निरौलाको यो एक व्यक्ति कला प्रदर्शनी ११ औं पटकको हो ।
आफ्ना कलाका विषयमा कलाकार निरौला भन्छन् –मूलतः म मेरो कलालाई भावपरक वैचारिकता र सुन्दरताको धरातलबाट बुझ्छु, हेर्छु र बनाउँछु । विगतका दिनहरुमा कलाका व्याकरणीय अध्ययन र अभ्यासबाट शुरु भएको मेरो कलायात्राले थुप्रै यथार्थवादी तथा वस्तुवादी आरोह, अवरोहहरु पार गर्दै अहिलेको यो अवस्थासम्म आइपुगेको हो, जुन आजका मेरा कला र कलाशैली निजी, मौलिक र स्थापीत परिणती हुन् । आज मेरा कलाहरु अर्धअमूर्त शैलीमा सिर्जित रहेका हुन्छन् । कलामा हल्का रंग र रेखाको पटाक्षेप हुन्छ । क्यान्भासमा रंग र रेखा संयमित (व्यालेन्स) भएर बसेको हुन्छ । टेक्सचर इफेक्ट (प्रभाव) मेरो कलाको मूल आत्मा हो भने चित्रको विषयवस्तु शरप्र हो ।
विगत तीन दशकभन्दा बढी समयको पेरिफेरीमा मैले मनोक्रोम (व्ल्याक एण्ड वाइट) बेसमा धेरै कामहरु गरे । विन्दु (पोइन्टलिस्टीक) र घातप्रतिधात (रेण्डरिंग) प्रणाली (मेथोड) लाई अपनाए“ । थुप्रै प्रायोगिक कला अनुभवहरु बटुले । कालो र सेतो प्रभावमा नै उचाइ र गहिराइ (एमपिलीच्युड) सम्म पुगे । पछिल्लो चरणमा मेरा यही निजी शैलीमा रंगहरुको समिश्रण गर्दै जाँदा नौलो प्रभाव र आयामको निमार्ण भएको हो । जुन पछिल्ला चरणका मेरा यी कलाहरु हेरेर नै क्रमिक विकास भएको अनुभूत लिन सकिन्छ । म आफ्ना चित्रमा प्रायः स्पेश डिभिजन, रंग, टेक्चर र विषयवस्तुलाई जोड दिने गर्छु ।
कला विषयवस्तुका दृष्टिकोणमा निरौला भन्छन् –मेरा चित्रहरु प्रायः विषय र परिस्थिति प्रधान हुन्छन् । विशेषतः म कलाका विविध विषयहरुलाई विषयवस्तुको रुपमा प्रयुक्त, प्रयोग गर्ने गर्छु । जस्तो गणेश, मानवीय भावना, उत्प्रेरणा, प्रकृति, जल, थल र आकाशका प्राणीहरु र तिनीहरुको प्राकृत मनोदशा तथा धर्म, संस्कृति र मान्यताहरु विषयका रुपमा समेटिन्छन् । विशेषतः म मनमष्तिकबाट उटेका भावनाहरुलाई कलात्मक रुपमा क्यानभासमा पोख्दछु । र सौदर्यताको खोजी गर्छु । अर्धअमूर्त शैलीका मेरा चित्रहरुलाई अभिव्यंजनावाद, भाववाद र प्रयोगवादको नजिकिएको भन्दा पनि हुन्छ ।
अहिले कोरोनाले आक्रान्त पारेको विश्व संकटको धडीमा सामाजिक जनजिवन प्रभावित छ । समाजमा भीडभाड, भेला हुने अवस्था छैन् । सबै ग्यालरीहरु बन्द छन् तथापी कलाकारहरु काम गर्न भने छोडेका देखिदैनन् । कलाकारहरु ग्यालरीमा गएर आफ्ना कलाहरु प्रदर्शनी गर्न नसक्ने र दर्शकहरु पनि प्रदर्शनी स्थलमा जान नसक्ने यो माहौलमा कलाकारहरुको लागि भर्चुअल अनलाईन सो एक उपयुक्त माध्यम बन्न पुगेको देखिएको छ । अनलाइन प्रदर्शनीकोे सन्दर्भमा आयोजक पक्ष क्लासिक ग्यालरीकी क्युरेटर एवं कलाकार सरीता डंगोल भन्छिन्– क्लासिक ग्यालरीले आफ्नो स्थापना कालदेखि नै कला र कलाकारहरुलाई प्रोत्साहन दिदै आएको छ । अनलाईन कला प्रदर्शनीको आयोजनाको उदेश्य विश्वभरीका कला र कलाकारहरुलाई जोड्नु हो । र विधुतीय गतिबाट कलालाई कलाका पारखीसम्म पुरयाउनु हो ।

प्रकाशित मिति: असोज २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend