विराटनगरः अवैधरुपमा भन्सार छली गरी लुकाइछिपाइ ल्याएको करिब ११ लाख रूपैयाँ मूल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले ११ लाख मूल्य बराबरको अतिसबाजी (पटका), खाद्यान्न तथा लत्ताकपडा बरामद गरी भन्सार कार्यालयमा बुझाएको प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
भारतीय सीमा एरियाहरुमा खटिएको प्रहरी टोली तथा विशेष सुराकका आधारमा मोरङको कटहरी–४ लोहन्द्रा घाटमा खटिएको प्रहरी टोलीले १ लाख ८० हजार बराबरको पटका, ७ लाख बराबरको लत्ता कपडा तथा २ लाख २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामानहरु बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी सोमबार विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट सिमा एरियाहरुमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ लाख बराबरको पटक तथा खाद्यान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
यता जिल्ला प्रहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याएका खाद्यान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
प्रहरीले तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरुप तथा कानुनविपरीत अवैधरुपमा चोरी निकासी पैठारी रोक्ने अभियानस्वरुप विशेष कदम चालिएसँगै यसरी अवैधरुपमा भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाउँदै आएको छ ।

