विराटनगरः अवैध रुपमा भन्सार छली गरी लुकाइछिपाइ ल्याएको करिब ६ लाख मूल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले करिव ६ लाख मूल्य बराबरको खाद्यान्न तथा विभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।
भारतीय सीमा एरियाहरुमा खटिएको प्रहरी टोलीले २ लाख ७८ हजार ४ सय मूल्य बराबरको सामानहरु बरामद गरेको हो भनि विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर घाँसचौक स्थितबाट ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडाहरु बरामद गरेको हो ।
प्रहरीले भारत जोगवनी घर भएका २२ वर्षीय किसनकुमार रायलाई समेत पक्राउ गरेको छ । जोगबनी बस्दै आएका रायले विराटनगरस्थित घाँसचौकमा सटर भाडामा लिएर अवैधरुपमा भन्सार छली गरी लत्ता कपडा ल्याई लुकाइछिपाइ स्टोर गरी राख्दै आएका थिए ।
उनलाई हिजो बेलुका सवा ८ बजे उनैले भाडामा लिएको सटरबाटै ३ लाख २१ हजार ६ सय मूल्य बाराबरको लत्ता कपडासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरुप तथा कानुन विपरित अवैध रुपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरुप विशेष कदम चालिएसँगै यसरी अवैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाउँदै आएको प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
