धरानः सशस्त्र प्रहरीले सुनका गहना र अवैध नेपाली रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
भारत विहारको अररीया जिल्ला जोगवनी–१३ का २५ वर्षीय दीपककुमार भगतललाई पक्राउ गरेको हो । उनको साथबाट ६ लाख ६२ हजार छ सय ५० रुपैयाँ र २९० ग्राम सुनका गहना बरामद भएको प्रहरीले जनाएको छ । मोरङका प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार उनले खुट्टामा टेपले बाँधेर लुकाइछिपाइ ल्याएको अवस्थामा नेपाली रुपैयाँ र कटटुभित्र लुकाएर ल्याएको अवस्थामा सुनका गहना बरामद गरिएको थियो ।
सुनका गहनामा ३७ पिस लकेट, चार पिस ब्रासलेट, १० पिस झुम्का र दुई पिस चुरा जनाइएको छ । सुन २४ लाख १२ हजार मूल्य बराबरको रहेका छ । भारतदेखि तस्करी गरी नेपालतिर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बिओपी रानीका प्रमुख इनिस्पेक्टर मौसम पोखरेलको नेतृत्वमा खटिएको टोलीले उनको साथबाट लकेट ३७ थान, हातमा लगाउने ब्रास्केट ४ थान, झुम्का १० थान, चुरा २ थान र मोबाइल एक थान बरामद गरेको थियो ।
बरामद भएको सुन गरगहना र नगदसहित पक्राउ परेका अभियुक्तलाई सशस्त्र प्रहरीले आवश्यक कारवाही र अनुसन्धानको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । सुनको गहना र हुण्डीको पैसाँ ल्याउने भगत भरिया रहेको खुलेको छ ।
