धरानः अहिले धरानका तनाव र डिप्रेसनको बिरामी निकै बढेको चिकित्सकहरुले बताएका छन् ।
दशैंअघिदेखि संक्रमित भएका व्यक्तिहरु बढी तनाव र डिप्रेसनमा परेको चिकित्सकले बताएका छन् । उपचारका लागि अस्पतालहरू तयार नहुनु, तिनको कमजोर क्षमता अर्थात् स्वास्थ्य क्षेत्रको पूर्वाधार अत्यन्तै कमजोर रहेका कारण बिरामी अत्तालिएका र तनावमा रहेका छन् । कोरोनाका विरामीमा असुरक्षाको भावना हुने गर्छ, आफू आफ्ना परिवार र आफन्तसँग पुनः फर्कन पाउने हो कि होइन आदि भनेर । निद्रा कम पर्न थाल्छ, खानपानमा रुची हुँदैन आदि इत्यादि ।
अझै भन्ने हो भने कोरोनाका कारण मानिसको दैनिक जीवनशैलीमा परिवर्तन आएको छ । कतिपयको जागिर समाप्त भएको छ, कसैको आम्दानीमा ठूलो गिरावट आएको छ । व्यक्तिगत मानसिक तनावका कारण मनोरञ्जनात्मक क्रियाकलाप कम हुँदै गएको छ । मानिसभित्रको डर हटेको छैन ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका सहप्रवक्तासमेत रहेका डा. आशिष श्रेष्ठ धरानका संक्रमितमा तनाव र डिप्रेसनका ‘केस’ बढ्दै गएको बताउँछन् । ‘संक्रमणले बढीजसो तनाव बढाउँदै गएको छ, त्यसले गर्दा डिप्रेसनमा जाने सम्भावना रहन्छ’, उनले भने, ‘तर तनाव र चिन्ता लिनुपर्दैन ।’ उनले अहिले प्रतिष्ठानमा यस्ता समस्या लिएर आउने बिरामी बढ्दै गएको बताए । ‘धेरैलाई स्वास्थ्यसंस्था ठीक छैनन् आदि इत्यादि भनेर वा संक्रमण भइहाल्यो भनेर पनि आत्तिने र तनावमा जाने गरेको देखिएको छ तर त्यस्तो तनाव लिनुपर्ने कारण छैन किनभने प्रतिष्ठानमै पनि विभिन्न समस्याको निराकरण भइरहेका छन् ।’
उनले प्रतिष्ठानमा ओपिडी सेवा सुचारु भइसकेको र यसअघि पनि टेलिमेडिसिन सेवा दिएको बताए । ‘खासमा हामीले यसअघि पनि टेलिमेडिसिन सेवा दिइरहेका छौं, सम्पर्कमा आएजतिलाई विभिन्न परामर्श दिइसकेका छौं’, उनले भने, ‘यहाँ आउन नसक्ने र समस्या हुनेले बीपी प्रतिष्ठानको वेभसाइटमा गएर सम्पर्क गरी घरमै बसेर पनि परामर्श लिन सक्नुहुन्छ ।’
प्रतिष्ठानका मनोचिकित्सकसमेत रहेका प्रा.डा. निदेश सापकोटा संक्रमितमा डिप्रेसन, चिन्ता, चिडचिडापन, डिसअर्डर जस्ता मानसिक समस्या बढ्दै गएको बताउँछन् । ‘कोरोना कहरमा धेरै मानिसहरु मानसिक रोगी बनेको स्वभाविक हो’, उनी भन्छन्, ‘बिनासित्तैमा मनमा धेरै कुराहरु खेलाउनु , मनलाई शान्त नबनाउनु, चिन्ता, डर, त्रास, आत्तिनु , निद्रा नपर्नु शरीर थाक्नु , बर्बराउनु गर्नु हुँदैन, यसले डिप्रेसनसम्म लैजान्छ ।’
कोरोना ठीक भएर घर फर्किएका कतिपय मानिस डिप्रेसन, एन्जाइटी र प्यानिक एट्याकको समस्यामा पर्ने गरेको चिकित्सकहरु बताउँछन् । ‘खासमा त्यो पनि विविध कारणले नै हुनसक्छ, त्यसका लागि सबैको योगदान जरुरी छ’, उनले थपे, ‘यसका लागि चिकित्सक, सरकार, समाजकै भूमिका महत्वपूर्ण रहेको छ ।’
उनले परिवार र समाजबाट आवश्यक स्नेह, कोही कोरोना संक्रमित देख्यो कि छिछी र दुरदुर गर्ने प्रवृत्ति हटाउँदै हौसलाका दुई शब्द बोलिदिनुपर्ने, त्यस्तै, अस्पतालका मनोचिकित्सकले बिरामीलाई विभिन्न ढङ्गमा काउन्सिलिङ र आवश्यक औषधि प्रयोग गर्न भनिरहनुपर्ने साथै सरकारले पनि नागरिकलाई अस्पताल र अस्पतालले गर्ने सेवामा अभाव हुन नदिन प्रण गर्नुपर्ने बताए ।
मनोचिकित्सकसमेत रहेका उनको सल्लाह यस्तो छः
कोरोनाभाइरसलाई लिएर सतर्क हुनुहोस् । रोगको बारेमा जानकारी र सतर्कता अपनाउनुहोस् तर नआत्तिनुहोस् । सम्पूर्ण समाचार भन्दापनि छानेर राम्रा र विश्वासनीय समाचार मात्र हेर्नुहोस् । जसले गर्दा हावादारी कुराले दिमागमा गलत प्रभाव पार्न सक्दैन । भावनात्मक स्वास्थ्यलाई ध्यानमा राख्नुहोस् । शरीरको ध्यान दिनुहोस् । दिमाग सँगसँगै शरीको ध्यान दिनु अपरिहार्य छ । घरमा धेरै बसेको हुनाले शारीरिक व्यायाम अपरिहार्य छ । सन्तुलित भोजन र नियमित व्यायामले शरीर फूर्तिलो बनाउँछ भने रोगसँग लड्ने क्षमताको पनि विकास गराउँछ । आफैलाई खुसी राख्नुहोस् । धेरै घरमा बस्दा अनेकन कुराहरु मन र दिमागमा खेल्न सक्छ । यसको सकारात्मक यात्रा गराउनुपर्दछ ।
धरान उपमहानगरपालिकाको अवस्था के छ ?
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले दशैंअघि संक्रमित हुने व्यक्तिहरु बढी तनाव र डिप्रेसनमा परेको जानकारी दिए ।
उनले दशैंअगाडिबाट २१ जना स्वास्थ्यकर्मीले धरानभरी सम्पूर्ण संक्रमितलाई परामर्श दिइरहेको उनले जानकारी दिए । ‘खासमा त्यतिबेलामा हाम्रा स्वास्थ्यकर्मी परिचालित नभएर पनि होला’, उनले भने, ‘दशैंअगाडिबाट र पछि हामीले २१ जना स्वास्थ्यकर्मी परिचालन गरेर परामर्श दिँदै आएका छौं ।’ उनले भने ।
उनले तनाव लिनुपर्ने काम नभएको बताए । ‘संक्रमित भएँ भन्दैमा तनाव लिनुपर्ने काम छैन’, उनले भने, ‘जति तनाव बढी लियो, त्यति डिप्रेसनमा जाने हो, त्यही भएर परामर्श लिनका लागि हामीसँग सम्पर्क गर्नुहोस् ।’
उनले धरान उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले के खाने, के खान नहुने, कस्तो प्रकारको ‘डाइट’ लिने, ज्वरो आए वा अन्य समस्या भए कस्तो औषधि सेवन गर्ने आदिबारे विशेषज्ञ चिकित्सकसँग समन्वय गरेर काम गरिरहेको बताए ।
‘पहिला तनावका गुनासो धेरै आए तर अहिले कसैले गुनासो गरेको छैन’, उनले भने, ‘गुनासो आए समाधान गरिदिँदैछौं ।’ उनले गाह्रोसाह्रो हुने संक्रमितलाई समन्वय गरेर हस्पिटलसम्म पुरयाउने काम आफूहरूले गरिरहेको बताए । ‘खासमा दिनमै ८०–९० जनासम्मको फोन आइरहेको छ, परामर्श दिनेलाई दिन्छौं र गाह्रोसाह्रो हुनेलाई हस्पिटलसम्म पुरयाउने काम भइरहेको छ ।’ उनले भने ।
दशैंपछाडि एन्फामा अक्सिजनसहितको आइसोलेसन बनाउने विषयमा के भयो ?
उनले अहिले संक्रमित घट्दै गएको बताए । एन्फामा अक्सिजनसहितको आइसोलेसन बनाउनका लागि त्यहाँ खाली गराइएको उनले बताए । ‘त्यहाँ हामीले क्वारेन्टाइन बनाएका थियौं, शंकास्पदलाई त्यहाँ राख्दै आएका थियौं, अहिले खाली गराएका छौं, आवश्यक परे वा संक्रमित थपिए त्यहाँ व्यवस्थापन गर्छौैं ।’ उनले भने । उनले त्यहाँ चिकित्सक, नर्स, सुरक्षा साथै विविध सामग्री पनि आवश्यक पर्ने हुनाले त्यसको व्यवस्थापनमा जुटेको उनको भनाइ छ । ‘अहिले मौसमी फ्लुले पनि बिरामी बढिरहेका छन्, २० जनाको परीक्षण गर्दा एक दुईजना मात्रै संक्रमित देखिएका छन्’, उनले थपे, ‘संक्रमितको संख्या घटिरहेको छ, नत्र एन्फामा आइसोलेसन सुचारु भइसक्थ्यो ।’