उदयपुरः उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ ।
शनिबार राति करिब १ बजे गाउँपालिकाको कार्यालयमा सुतली बम बिस्फोट भएको उदयपुरका प्रहरी प्रमुख एसपी भीमप्रसाद दाहालले बताए । एसपी दाहालका अनुसार बम बिस्फोटबाट कार्यालयमा क्षति पुगेको छ । कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन् भने भवन चर्किएको छ ।
अहिलेसम्म बम कसले बिस्फोट गरायो भन्ने खुलिसकेको छैन । घटनास्थलमा कुनै पर्चा, पम्प्लेट नभेटिएको प्रहरीले जनाएको छ ।
कार्यालयको गेटमा राखिएको अर्को बम भने नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ । विस्फोटबाट कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन् भने भवन चर्किएको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताए ।
गएराति सवा १ बजे कार्यालयको सहायता कक्ष रहेको बरन्डामा विस्फोट भएको उनले बताए । उनका अनुसार विस्फोटबाट कार्यालयको दराज, सिसा र फर्निचरमा समेत क्षति पुगेको छ ।
बरन्डामा सुतली बम विस्फोट भएको देखिन्छ । गाउँपालिका अध्यक्ष थापाले पनि विस्फोट गराउनुपर्ने कुनै कारण नरहेको बताए । आफूहरूलाई अहिलेसम्म कतैबाट कुनै प्रकारको माग, धम्की केही नआएको र एक्कासी विस्फोट गराइएको उनले बताए ।