विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट १०८ थान छालाको वेल्टसहित तस्करी कार्यमा संलग्न महिला पक्राउ परेकी छन् ।
बिहान सवा ४ बजेको समयमा केही ब्यक्तिहरुले भारतीय बजारबाट अवैधरुपमा सामान भित्रयाउन लागेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अरबिना खातुनलाई १०८ थान छालाको बेल्ट सहित पक्राउ गरेको हो ।
सो स्थानमा अन्य मानिसहरु समेत रहेको र समान नियन्त्रणमा लिने क्रममा प्रहरी माथी आक्रमण गरी हुल हुज्जत गरेकोमा एक राउण्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेकी महिलाको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा घटनामा संग्लग्न अन्य मानिसहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै, मोरङको उर्लाबारी नगरपालिका–६ बाट अबैध हातहतियार र गोली गठ्ठा सहित १ जना पक्राउ परेका छन् । सो स्थानमा केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा शनिबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले फक्ताङलुङ गाउँपालिका–२ ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो ।
शेर्पाको साथबाट अटो पेस्तोल युएसए लेखिएको पेस्तोल १ थान, पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, विभिन्न किसिमका कागजपत्र, ३ वटा मोवाइल, व्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको थियो । हातहतियार र विभिन्न दस्तावेजसहित पक्राउ परेका शेर्पा नेपाल कम्युनिष्ट पाटी विप्लव समूहका सेक्सन कमाण्डर रहेको खुल्न आएको तथा हाहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।