धरानः पहिले परनिर्भर रहेका यहाँका महिला अहिले आफ्नै कमाइमा रमाउँदैछन् । व्यावसायिक कुखुरापालन (बोइलर), पशुपालनमा पुरुषसँगै महिला पनि आकर्षित हुँदै गएको पाइएको छ । अहिले भन्न थालेका छन्–घरको आर्थिक अवस्था सुधार्न पुरुष मान्छेले मात्रै सक्छन् भन्ने होइन साथै व्यवसाय गर्नेलाई गाउँमै अवसर पनि छ ।
धरान–२० आँपटार, विष्णुपादुकालगायतका महिला व्यवसायिक कुखुरापालनले आत्मनिर्भर बन्दै गएका हुन् । आत्मनिर्भर भएपछि महिला हिंसामा पनि कमी आएको उनीहरुको तर्क छ । ‘खासमा महिला आत्मनिर्भर भए कसैको हेपाइमा पर्नुपर्दैन रहेछ भन्ने कुरा हामीलाई हेक्का हुन थालेको छ’, आँपटारकी महिला कृषक आशा राईले भनिन्, ‘अहिले यहाँका अधिकांश महिला कुखुरापालन, बङ्गुरपालन र बाख्रापालनमा निर्भर हुन थालेका छन् ।’
यहाँका महिला कुखुरा, बाख्रापालन र बङ्गुरपालनमा आकर्षित हुँदै गएका छन् । आशाको दैनिकी कुखुराको हेरचाहमै बित्छ । उनले फुर्सदको समयलाई सदुपयोग गर्दै कुखुरापालन थालेकी छिन् । बिहानै उठेर कुखरालाई दाना पानी दिने, खाना खाएपछि फेरी कुखराको खोरमा पुग्नु, दानापानी दिनु उनको दैनिकी नै हो । दिउँसो घरको कामकाज भ्याएर पुनः कुखुराको खोरमै पुग्छिन् र दानापानी दिन्छिन् । विगत दुई वर्षदेखि घरनजिकै रहेको कुखुरा फर्ममै उनको दैनिकी बित्ने गरेको उनले बताइन् ।
अहिले उनको खोरमा ५ सयभन्दा बढी जातका कुखुरा छन् । ‘९ सयसम्म चल्ला खोरमा लगाउने गरेको छु’, आशाले भनिन्, ‘अहिले ५ सय जति मात्रै छ, अझै थप्नेछु ।’

कुखुरा, बाख्रा, बङ्गुर पालेर हुर्किएपछि बिक्न सहज हुने गरेको उनले बताइन् । ‘धरान बजार नजिकै छ, नबिक्ला भन्ने चिन्ता छैन, यसैले गर्दा पनि यहाँका महिला पल्किए’, उनले थपिन्, ‘हामीले फोन मात्रै गर्नुपर्छ, यहाँ व्यवसायी नै टक्रक्कै आइपुग्छन् ।’
उनीहरूका अधिकांश श्रीमान भने धरान बजारतिर काम गर्न आइपुग्छन् वा विदेशतिर छन् । महिलाले पनि केही गर्छन् अठोटका साथ कुखुरापालन, बाख्रापालन र बङ्गुरपालनमा सफल पनि बनेका छन् । आशाले थपिन्, ‘अधिकांश महिला सफल पनि बनेका छन्, महिलाले पनि पेशा–व्यवसाय गरेर आम्दानी गर्न सक्छन् भन्ने मैले देखाएकी छु । बिहानदेखि नै कुखुरापालन व्यवसायमा संलग्न हुने गर्दछु । यसले मेरो घरपरिवार चलाउन सजिलो भएको छ ।’
कुखुरा पाल्नका लागि आशाले दुईटा फर्म बनाएकी छिन् । घरमै बस्नुभन्दा व्यवसाय गर्ने सोंचका साथ कुखुरापालन शुरु गरेको उनले बताइन् । ‘घरमै यतिकै बस्ने गर्थे । केही गरौं बसेर हुँदैन जस्तो लाग्यो । व्यवसाय गर्न सके, फाइदा पनि हुन्छ । काम पनि सिकिन्छ भनेर शुरु गरे’ उनले भनिन्, ‘कुखरासँगै बङ्गुर र बाख्रापनि पालेको छु, फाइदै फाइदा छ, वार्षिक खर्च कटाएर तीन लाख कमाउँदै आएको छु ।’ विशेषतः कुखुराबाट बढी आम्दानी गर्न सकिने उनीहरू बताउँछन् । ‘कुखुराको बजार भाउ पनि राम्रो छ’, आशाले भनिन्, ‘कुखुरालाई रोग नलाग्ने हो भने कुखुरापालनबाट मनग्ये आम्दानी गर्न सकिने देखिएको छ ।’
यस्तै, अर्की महिला निर्मला तामाङ बङ्गुरपालन र बाख्रापालनमा रमाएकी छिन् । उनले सो व्यवसायबाट वार्षिकरुपमा अढाइ लाख रुपैयाँ बढी कमाएको बताइन् ।

कुखुरापालन व्यवसायलाई बढाउने सोच बनाएपनि सरोकारवाला निकायबाट सहयोग नपाएको आशाको गुनासो छ । किसानलाई प्रोत्साहन गर्न र व्यवसाय सञ्चालन गर्न सरकारले विभिन्न अनुदानका योजना ल्याए पनि वास्तविक किसानसम्म पुग्न नसकेको बोहराको गुनासोे छ ।
‘अनुदान छ कि भनेर बुझ्छु तर जानकारी समेत पाएको छैन, अहिलेसम्म केही पाएको छैन’ उनले भनिन्, ‘सबैले पाउने सहयोग आएमा व्यवसाय गर्न अझै सहज हुने थियो ।’
‘केही गरौं भन्ने सोच बनाएका किसानले सहयोग पाउँदैनन् रे नि त’, उनले थपिन्,‘भनसुन र सोर्सपोर्सको भरमा अनुदान वितरण हुन्छ रे यसो हुँदा मेहनत गर्ने वास्तविक किसान मारमा परेको पनि सुन्दै आएको छु ।’
श्रम गर्ने सके देशकै माटोमा रोजगारी मिल्ने ती महिलाको अनुभव छ । निर्मलाले भनिन् ‘महिला पनि विदेशिएको रेडियो, टिभी, पत्रपत्रिकाबाट सुन्दै आएका छौं तर आफ्नै देशमा केही गर्न सकिन्छ नि, साथै महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न महिलालाई आर्थिक आयआर्जनका क्रियाकलापमा संलग्न गराउनु राज्यको पनि दायित्व हो र यो कार्य आवश्यक छ ।’ तस्वीरः हाम्रो कोशी आवाज




