पुरस्कार लिँदै साहित्यकार श्रेष्ठ (बीच) । तस्वीर फाइलः हाम्रो कोशी आवाज
धरानः अग्रज साहित्यकार, समाजसेवी, राजनीतिक चिन्तक, वाम चिन्तक अर्थात धरानका वामपन्थी नेता कृष्णप्रसाद श्रेष्ठ (बिए कृष्णप्रसाद) को निधन भएको छ ।
लामो समयदेखि पिसाबको समस्याबाट पीडित उनी मुटु रोगको औषधि सेवन गरिरहेका थिए । घुँडा दुख्ने समस्याबाट पीडित उनको ८७ वर्षको उमेरमा निधन भएको हो ।
आइबार दिउँसो १ः२५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । वामपन्थी विचारधाराका उनी २०१५ सालमा वडा नं. १ को वडाध्यक्षमा निर्वाचित थिए ।
पब्लिक हाइस्कुलबाट २००५ सालमा धरानबाट पहिलोपटक एसएलसी दिएर पहिलो श्रेणीमा उत्तीर्ण भएका उनी पछि धरानबाट स्नातक तह उत्तीर्ण गर्ने पहिलो व्यक्ति भएकोले उनलाई ‘बिए कृष्ण’ भनिएको हो ।
उनी पूर्व प्रधानमन्त्री, नेकपा एमालेका नेता स्व. मनमोहन अधिकारीसँगै रसियन आन्दोलनमा पनि लागेका थिए । उनकै पालामा २०१७ सालमा धरान–१३ मा जनता पुस्तकालय स्थापना भएको थियो । त्यो पुस्तकालय अझै छ । पहिलो बिए पास गर्ने व्यक्ति हुन् । ‘उहाँचाहिँ जिउँदो पुस्तकालय हुनुहुन्छ, उहाँले व्यक्तिगत तवरमा धेरै पुस्तक सङ्कलन गर्नुभएको छ’, जानकार ज्ञानेन्द्र श्रेष्ठ भन्छन् ।
उनका दुई छोरा र तीन छोरी रहेका छन् । वाम चिन्तक उनी नेवारी समुदाय धरानका ‘इनसाइक्लोपेडिया’का रुपमा चिनिन्छन् । मृतक श्रेष्ठको आजै अन्त्येष्टी गरिने बताइएको छ ।