Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी ‘ठेलावाली सुन्दरी’ !

हाम्रो कोशी आवाज
मंसिर १८ २०७७, बिहिबार
धरानकी ‘ठेलावाली सुन्दरी’ !

धरानः धरानको केन्द्रविन्दु मानिने भानुचोक । सयौं यात्रु, स्थानीय र बाह्य पर्यटक, यात्रु ओइरिने ठाउँ । दिउँसोको तीन बजेपछि शुरु हुन्छ उनको व्यवसाय– छिटो, मिठो खाजा । बेलुका साढे ९ बजेसम्म निरन्तर चलिरहन्छ उनको व्यवसाय । गहुँगोरो अनुहार, खाइलाग्दो चेहरा अनि हृष्टपुष्ट जिउडाल । २०-२१ वर्षकी हाराहारीमा घुमिरहेको छ उनको उमेर । यही गहुँगोरो अनुहार ठेलामा चाउमिन, ममः, अन्डारोल राखेर बेचिरहेको भेटिन्छिन् । उनीसँगैका साथी कोही केटासाथीसँग घुमिरहेका होलान्, कोही बराइलिरहेका होलान्, कोही पढ्दै होलान्, कोही साथीभाइ भेट्दै होलान् । भनौं उनको उमेरका साथी मस्तीसँग जिन्दगी पनि गुजारिरहेका होलान् । तर उनको दैनिकी अन्यभन्दा फरक छ ।
‘मान्छेका सौख पनि अनेकन हुन्छन् । कोही घुम्न मन पराउँछन्, कोही केटीसाथी लिएर लामो यात्रामा जान रुचाउँछन्’, भानुचोक (पहाडी क्षेत्रमा जाने सार्वजनिक बस स्टेण्ड) मा भेटिएकी उनी हाम्रो कोशी आवाजसँग खुलेर कुरा गरिन्, ‘गरेर खान किन लजाउनु ?’
उनीसँगै रहेका अन्य परिवार पनि खुल्न थाले । त्यहाँ खाजा खानेको हरेक दिन लाम उस्तै हुन्छ । ‘सानोतिनो काम गरेर जीविकोपार्जन गर्न सकिने हुनाले देशमा केही गर्नसके सबैलाई फाइदा हुन्छ,’ उनी भन्छिन्, ‘जाँगर चलाउनेलाई कहीं पनि भोकै मर्नुपर्दैन । कामलाई सम्मान गर्नसके त्यसबाट आम्दानी राम्रो हुन्छ ?’
उनी हुन्- धरान–१५ की जीना तामाङ । थपिन्, ‘गरि खान के को लाज ?’ उनी पढ्दै पनि छिन् । कक्षा–११ मा अध्ययनरत् उनी व्यवसाय गरेर पढ्दै आएको लगभग ५ वर्ष भइसकेको बताउँछिन् । ‘यसअघि आफन्तले व्यवसाय गर्दै आउनुभएको थियो, त्यसपछि मैले व्यवसाय चलाउन थालेंं, अहिले मैले व्यवसाय गरेको पनि ५ वर्ष भइसकेको छ, यसैले पढाइखर्च धान्दै आएकी छु ।’
धरानमा अधिकांशको रोजाइको खाजा हो, चाउमिन र मःम अनि अन्डारोल । ‘विशेषतः चाउमिन, चाउमिनबाटै बनेको अन्डारोल अनि मःम मन पराउने गरेका छन्’, उनले थपिन्, ‘कमाइ पनि राम्रै छ, दिनमा नभएको पनि दैनिक ५ सय त हुन्छ नै तर पनि १ हजारदेखि ३५ सयसम्म कमाइ हुने गरेको छ ।’
उनकै आफन्त बन्दना तामाङले यस्तो व्यवसायबाट परिवारको खर्च धान्न सहज हुँदै आएको र बचत पनि गर्दै आएको बताइन् । यसै आम्दानीले बचत गर्न सिकाएको र घर परिवारको खर्च धान्न सहयोग पुगेको साथै नानीहरुको पढाइ खर्च पनि निस्किएको उनले सुनाइन् ।
‘कमाइले घरखर्चमात्र चलेको होइन बचतपनि हुने गरेको छ’, उनले भनिन् ।यसैबाट आएको आम्दानीले छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउँदै आएको उनी बताउँछिन् । उनले भनिन्, ‘छोराछोरीको पढाइ शुल्क तिर्छु, परिवारका सदस्यहरू बिरामी हुँदा उपचार र अन्य खर्च पनि यही व्यापारबाट हो ।’
उनीहरु त्यतिबेला साह्रै खुसी हुन्छन्, जतिबेला उनीहरु चारजना नै काममा व्यस्त हुन्छन् । खाली हात कोही बस्नुपर्दैन । कोही भाडा माझ्छन्, कोही ग्राहकलाई सेवा दिन्छन् । उनले थपिन्, ‘जब आहा कति मिठो भन्दै मःम, चाउमिन, अन्डारोल खान्छन् तब हामीलाई पनि खुसी लाग्छ ।’ आफूले मःममा प्रयोग गर्ने हरेक सामानहरु ताजा र सफा हुने बताएका छन् । ‘कुनैपनि कुरा बासी प्रयोग गर्दैनौं’, उनले भनिन्, ‘सबै सामान ताजा र ठेलामा नै आएर बनाउने भएकाले सबैले ताजा सफा र राम्रोमा विश्वास गर्ने गरेका छन् र पो चल्छ त ।’ लकडाउनपछि उनीहरुको यस्तो व्यापार केही खस्किएको छ ।
उनीहरु त उदाहरण मात्रै हुन् धरानको भानुचोकमै ठेलामा व्यवसायबाटै जीवन धानिरहेकाहरूको संख्या उल्लेख्य छ । मेहेनत गर्ने हो भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन भन्ने गतिलो उदाहरण समेत हुन्, उनीहरू । भन्छन्, ‘पहिचान गर्न सके काम र दाम यहीं छ ।’ रोजगारीका लागि विदेश जाने युवायुवतीहरूलाई नेपालमा पनि थुप्रै सम्भावना भएको जिना बताउँछिन् । उनी भन्छिन्, ‘परिवारलाई खर्च धान्नका लागि सबैभन्दा उत्तम काम यही लाग्यो, जाँगर चलाउन सके १५–२० हजार खेलाउन विदेश गइरहनुपर्दैन ।’ जागिरका लागि कसैलाई सिफारिस गरिरहनुभन्दा स्वाभिमानको यस्तो पेसाले सबैलाई फाइदा पुरयाउने उनको भनाइ छ । सानोतिनो काम देशमा गर्न लाज मान्दै ऋण खोजेर विदेश भौतारिनु भनेको दुःख पाउनु मात्रै रहेको उनी बताउँछिन् ।
विदेशमा मात्र कामको सम्भावना र नेपालमा काम गर्ने वातावरण छैन भन्नेहरुका लागि यो गतिलो झापड हो । अनि नेपालमा काम गर्दा कामलाई सानो र ठूलो भन्नेहरुले उनीहरुबाट केही सिक्ने कि ?
तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: मंसिर १८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend