धरानः उदयपुरमा शक्तिशाली बम विष्फोट भएको छ ।
अज्ञात समूहले चारवटा शक्तिशाली बम विष्फोट गराएको हो । कटारीमा रहेको सौर्य चुनढुंगा खानीमा शुक्रबार राति १२ः३० बजे सो विष्फोट भएको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार अज्ञात समूहले कटारी नगरपालिका–८ भान्टाबारीस्थित खानीमा चारवटा विष्फोटन भएको छ । विष्फोटपछि फरार रहेको समूहको खोजी भइरहेको दाहालले बताए । उनका अनुसार कुन बम विष्फोट गराइएको हो भन्ने यकिन हुन बाँकी छ ।
विष्फोट भएका बेला खानीमा मजदुरहरु रहेका थिए । लगातार विष्फोट हुन थालेपछि मजदुरहरुबीच भागदौड मच्चिएको थियो । घटनापछि आत्तिएर भागदौड गर्ने क्रममा चुन ढुंगा खानीमा कार्यरत चार जना मजदुर घाइते भएका छन् ।
घटनास्थलमा कटारीबाट नेपाल प्रहरीका डीएसपीको नेतृत्वमा पुगेको टोलीले घटनाको अनुसन्धान थालेको छ । सशस्त्र प्रहरीको टोली पनि घटनास्थलमा पुगिसकेको छ । नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थललाई अहिले सुुरक्षित राखेर वरपर मानिसलाई आवजावत गर्न रोक लगाएको छ ।
प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले घटनाको अनुसन्धान प्रभावकारी ढंगले गर्न उदयपुर प्रहरीलाई निर्देशन दिएका छन् ।