Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी केविका खत्रीको ‘कमाल’ !

हाम्रो कोशी आवाज
मंसिर २२ २०७७, सोमबार
धरानकी केविका खत्रीको ‘कमाल’ !

धरानः धरानकी चेली केविका खत्रीको ‘कमाल’ अहिले टेलिभिजन पर्दामा हेर्न पाइरहेको छ ।
विशेषतः धरानलाई चिनाउन साथै आफ्नो करिअर अगाडि बढाउन उनी हरतरले लागिपरेकी छिन् । धरान–१७ रेल्वेकी स्थायी बासिन्दा उनी रियालिटी शो ‘डान्सिङ विथ द स्टार नेपाल’ को सेमीफाइनलमा पुगेकी छिन् ।
हिमालय टेलिभिजनबाट प्रशारण हुने यस रियालिटी शोमा उनी सेमीफाइनलमा उक्लिएकी हुन् । नेपालमा ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स रियालिटी शो निकै रुचाइएको शो मा पर्छ । यस कार्यक्रममा १२ जना स्टार कलाकारले १–१ जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिष्पर्धा गर्दै आएका छन् । त्यसमा धरानकी केविका र नेपाल आइडलका बिजेता बनिसकेका बुद्ध लामा छन् । उनले कोरियोग्राफरसहित पार्टनर बुद्धलाई सिकाएर अघि बढाइरहेकी छिन् ।
सानैदेखि नृत्यमै लगाव
उनी सानैदेखि नृत्यमा रुचि राख्थिन् । उनी घरमै पनि फुरुङ्ग हुँदै नाच्थिन् । बाबुआमाले पनि आफ्नो छोरीको प्रतिभा नबुझेको तर उनले स्कुल, कलेजमा हुने विभिन्न प्रतियोगितामा भाग लिएर पुरस्कार जित्न थालेकी थिइन् । पुरस्कार जितिसकेपछिचाहिँ आफ्नो छोरीको प्रतिभाबारे बुझेको बाबु काजी खत्री बताउँछन् ।
बुबा टेम्पो चालक
उनी आमा गृहिणी हुन् भने बुबा काजी खत्री टेम्पो चालक हुन् । उनी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी अञ्चल सदस्य समेत हुन् । टेम्पो चलाएर छोरालाई प्लस टु पढाइसकेको र छोरीलाई स्नातक तह पढाइसकेका छन् । छोरी यसअघि छमछमीमा पनि पाँचौ बनेको र त्यसका लागि धरानेले सक्दो सहयोग गरेको उनले बताए ।
‘मैले जतिसक्दो छोरीको सपना पूरा गर्न लागिरहें’, उनले भने, ‘टेम्पो चलाएर छोरीको जे सपना देखेकी छिन्, सपना पूरा गर्न लागिरहेको छु, यसपटक जित्ने आशा लिएका छौं, धरानलगायत देशविदेशमा रहनुहुने नेपाली दाजुभाइले भोट दिएर जिताएको हेर्ने र आफू र छोरीले आफ्नै सपना पूरा गरे धोको फुकाएर रुने मेरो धोका पूरा गरिदिनुहोला ।’
अन्य प्रतियोगितामा भाग लिएर फाइनलिष्ट बनेकी छोरीलाई अन्तिम मौका दिन उनले आग्रह गरे । ‘छोरीलाई अन्तिम मौका दिनुहोस् र भोट गरेर जिताएर गरिबका पनि दिन आउँदा रहेछन् भनेर देखाइदिन हुन विनम्रताका साथ आग्रह गर्दछु ।’ उनले भने ।
छमछमीमै पनि अन्तिमसम्म
उनले केहीवर्षअघि नेपाल नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘राष्ट्रिय नृत्य प्रतियोगिता छमछमी–३’ मा पाँचौ बनेकी थिइन् । उनले नृत्यमै आफ्नो प्रतिभा पस्किँदै उनी पाँचौ बनेकी हुन् । उनले धरानको नवोदय, युएन कलेजबाट प्लस टु सिध्याएकी हुन् भने ब्याचलर लेवलमा अध्ययनरत छिन् ।
यस्तै, उनी लेटमी डान्स सिजन १ को फाइनलिष्ट हुन् ।
केविका भन्छिन्–
विशेषतः यसपटक जित्छु भन्ने आशा लिएकी छु । मैले पहिलादेखि नै विभिन्न प्रतियोगितामा भाग लिँदै आएकी छु । मेरो करिअर नै नृत्य क्षेत्रबाटै अगाडि बढाउन चाहन्छु । अहिले काठमाडौंमै छु । सबै धरानलगायत देशविदेशमा रहनुहुने नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुले सक्दो भोट दिइ जिताउन आग्रह गर्दछु । उनले प्रतियोगितामा भोटिङ गर्न झन्झटिलो भएपनि सिधै आइएमइमा सेन्टरमा गएर पैसा लोड गरिदिन आग्रह गरे पुग्ने बताइन् । उनले आफूहरुको भोटिङ कोर्ड ०१ रहेको बताइन् ।
अन्त्यमा प्रतियोगिताबारे
हरेक साता हुने भोटिङबाट उत्कृष्टताको छनोट हुनेछ । दर्शकहरुको भोट र निर्णायकहरुको मूल्यांकनका आधारमा हरेक हप्ता एकजना कार्यक्रमबाट इलिमिनेट हुँदै जानेछन् । यस क्रममा उनको जोडी सेमीफाइनलमा पुगेको हो । आगामी शनिबार हुने प्रतिस्पर्धाबाट उनी फाइनलमा पुग्नेछिन् ।
बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका विश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिई नेपाली संस्करणमा हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गरेको हो । बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: मंसिर २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend