धरानः धरान उपमहानगरपालिकाले उपमहानगरभित्रका विद्यालयलाई खोल्न दिने निर्णय गरेको छ ।
यो निर्णयअनुसार भोलिबाट धरानका विद्यालय खोलिनेछन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र नगर शिक्षा समितिको बैठकले विद्यालय खुला गर्ने अनुमति दिएको हो ।
उपमहानगरपालिकाद्वारा जारी सूचनामा कक्षागत अभिभावक भेला गराई कोरोना संक्रमण तथा विद्यार्थीको स्वास्थ्य सुरक्षामा छलफल तथा सचेत र प्राप्त राय, सुझावको आधारलाई समेत मनन गर्ने, सम्बन्धित वडाका जनप्रतिनिधिसँग विद्यालय सञ्चालनका बारेमा समन्वय गर्ने गराउने, विद्यालयको भौतिक अवस्था मध्यनजर गरी एक बेन्चमा बढीमा दुईजना र एक कोठामा बढीमा २५ जना विद्यार्थी बस्न पाउने व्यवस्था गरिनुपर्ने भनिएको छ ।
यस्तै, पठनपाठन सञ्चालन गर्नुपूर्व दैनिकरुपमा कक्षामा सेनिटाइज गरिनुपर्ने, विद्यालय प्रवेशअघि विद्यालयको प्रवेशद्वारमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको दैनिक तापक्रम मापन गरिनुपर्ने, अनिवार्य सेनिटाइजर तथा साबुनपानीले हात धुने व्यवस्था मिलाउनुपर्ने, खाजा छोट्याइनुपर्ने सूचनामा जनाइएको छ ।
‘धरानमा सरर विद्यालय खुलिहाल्छन् भन्ने होइन, प्रत्येक विद्यालयले फरक फरक विषयमा प्रस्ताव पेशेका छन्, सोही प्रस्तावका आधारमा खुल्ने हुन्’, नगर शिक्षा महाशाखाका प्रमुख रत्न कटुवालले भने, ‘कसैले दुई सिफ्टमा भनेका छन्, कसैले एक सिफ्ट, कसैले ठूला कक्षाका विद्यार्थी मात्रै उपस्थित गराउने भनेका छन्, साना कक्षा चलाउने स्कुलले ला कक्षाका विद्यार्थी समेत भनेका छन्, सोहीअनुसार मात्रै विद्यालय खुल्ने हुन् ।’
उनले विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड र विद्यालय सञ्चालन कार्यविधि अपनाउन समेत निर्देशन दिँदै विद्यालयलाई आवश्यक पर्ने साबुन, पानी र मास्क अनिवार्य गरिएको जानकारी दिए । उनले स्वास्थ्य विज्ञसहित विद्यालय सञ्चालनको अवस्था थाहा पाउन अनुगमन समेत गर्ने निर्णय गरेको जनाएको छ । उनले विद्यालय सञ्चालन गर्दा विद्यालयको पूर्वाधार, क्षमतालाई ध्यान दिनुपर्ने बताए ।
उपमहानगरपालिकाका मेयर राईले छलफलपछि सहमति गरेर विद्यालय खोल्ने निर्णय गरिएको जानकारी दिए । यस्तै, शुल्कको सम्बन्धमा पनि थप निर्णय भएको उनले जानकारी दिए ।


