धरानः सुनसरीमा शुक्रबार मात्रै ८ ठाउँमा दुर्घटना भएको छ ।
यसैबीच धरान-१३ कोशी राजमार्गस्थित जिरोप्वाइन्टमा चेकिङमा रहेको प्रहरीलाई स्कुटीले ठक्कर दिएको छ ।
अमरहाटबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा को१४प ११७२ नम्बरको स्कुटीले चेकिङमा खटिएका प्रहरी हवल्दार नारायण यादवलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
धरान-१३ रेखा थापाको पसलमा काम गर्ने वर्ष २२ को कलिम मियाँले उनलाई ठक्कर दिएका हुन् । उनको घर भारतको बैंगलोर रहेको प्रहरीले जनाएको छ । ठक्करले उनको दुवै हातको कुइनामा र बायाँपट्टिको गालामा चोट लागेको छ । उनको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । स्कुटी इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
यसैबीच इनरुवा महेन्द्रचोकमा नाम पहिचान हुन नसकेको मोटरसाइकलले ठक्कर दिँदा एक घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकलले वर्ष ५८ को ईश्वर भट्टराईलाई ठक्कर दिई फरार बनेको छ । ठक्करबाट भट्टराईको टाउकोमा चोट लागेको छ । उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरी–५ बालग्राम चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्व आइरहेको ना६ख ६५०६ नं. को ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्र१–०२–०४३प ९१७ नं. को मोटरसाइकलले ठक्कर दिँदा चालक घाइते बनेका छन् । सोही ठाउँका वर्ष ४५ को केदारबहादुर बस्नेत र पछाडि सवार वर्ष ४३ की सीतादेवी बस्नेत घाइते बनेका हुन् । ट्रक चालक जिल्ला मकवानपुर पालुङ ११ बस्ने वर्ष २७ को अजित तामाङ प्रहरीको नियन्त्रणमा छन् ।
यस्तै, सुनसरीकै रामधुनी नपा२ तित्रिवना चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्व जाँदै गरेको को२८प ७२७२ नं. को मोटरसाइकललाई स्थानीय मिलबाट बाहिर निस्किनुपूर्व मोडिदै गरेको ना६ख ८५१८ नं. को ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते बनेका छन् । इटहरी–१ बस्ने वर्ष ४५ को निर्मल निरौला सामान्य घाइते बनेको प्रहरीले जनाएको छ । ट्रक चालक तेह्रथुम डाडाँगाउँ–१ बस्ने वर्ष २२ को विशेष श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।
सुनसरीकै दुहवी–२ मैनावत्ती फ्याक्ट्रीअगाडि कोशी लोकमार्गमा दक्षिणबाट उत्तर जाँदै गरेको को१च ३९०७ नं. को हाइलेक्स गाडीलाई सोही दिशाबाट गइरहेको को३४प २१९३ नं. को मोटरसाइकलले ठक्कर दिँदा दुईजना घाइते बनेका छन् । विराटनगर–४ बस्ने वर्ष २१ को निजल सापकोटा र पछाडि सवार निजकै आमा वर्ष ४० कि अम्विका सापकोटा सामान्य घाइते बनेका छन् ।
मोटरसाइकलले म्याजिकलाई ठक्कर दिँदा एक गम्भीर घाइते बनेका छन् । इटहरी–५ हलगडास्थित कोशी लोकमार्गमा इटहरीबाट धरानतर्फ जाँदै गरेको को१च ३६४० नं. म्याजिक भेनलाई विपरीत दिशाबाट आउँदै गरेको को३१प ८५७६ नं. को मोटरसाइकलले गलत साइडमा ठक्कर दिँदा मोटरसाइकल चालक अनुप थापा गम्भिर घाइते बनेका हुन् । म्याजिक चालक सोही ठाउँका वर्ष ३५ को गंगाराम राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी–६ मिलनचौकस्थित पूर्व–पश्चिम लोकमार्गमा स्कारपियोलाई ठक्कर दिँदा एक घाइते बनेका छन् । पश्चिमबाट पूर्व आउँदै गरेको को१च ७४४८ नं. को स्कारपियोलाई विपरीत दिशाबाट आउँदै गरेको को२४प ७९१ नं. को मोटरसाइकलले गलत साइटमा आई ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी–९ बस्ने वर्ष ३८ को शिवकुमार महत घाइते बनेका हुन् ।
इटहरी–५ खेतीखोलास्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को३१प ४७६५ नं. स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक महिला घाइते बनेकी छिन् । चालक इटहरी–१७ बस्ने वर्ष ३८ कि शोभा दाहाल घाइते बनेकी हुन् ।