धरानः भीडभाड, कोलाहल र उत्साहमाझ चम्किने मनोरञ्जन बजार अब के होला भन्ने अझै अन्यौल नै छ । गएको चैत ५ गते सरकारले एकैठाउँ भेला हुन रोक लगाएपछि मेला, महोत्सव, कन्सर्ट, नाइट क्लब, फिल्मी क्षेत्र बन्द गरेको थियो र अहिलेसम्म बन्द छ । कोरोनाको शिकार मनोरञ्जन क्षेत्र अहिलेसम्म छँदैछ भनौं भीडभाडकै बीच चम्किने मनोरञ्जन अहिलेसम्म माथि उठ्न सकेको छैन ।
कतिपयले भर्चुअल माध्यम अपनाएर पनि मनोरञ्जन दिइरहेका छन् भने कलाकारहरुले युटयुवलगायत सामाजिक सञ्जाललाई जोडतोडका साथ प्रयोग गरिरहेका छन् ।
आखिर चम्किएला अब मनोरञ्जनको बजार ?
धरानस्थित डिजे ललित विस्तारै मनोरञ्जनको बजार सहज बन्दै जाने बताउँछन् । ‘बजार, सार्वजनिक बस, स्कुल खुलिसके सुरक्षित रहँदै, सुरक्षित पार्दै खुलिसके, अब विस्तारै मनोरञ्जनको क्षेत्र पनि अघि बढ्छ भन्ने विश्वास छ । ’
मनोरञ्जन क्षेत्रका लाखौं कलाकार, फिल्मकर्मी, डिजे, विभिन्न गायनदेखि सौन्दर्य प्रतियोगिता गराउने आयोजक, कर्मचारी अहिलेसम्म बेरोजगार छन् । रेष्टुरेण्ट खुलेपनि अझै धेरैको रोजीरोटी गुमेको छ । गीत–सङ्गीतका कलाकार, कलाकर्मी, फिल्मकर्मी, म्युजिक भिडियो बनाउनेदेखि कलाकारसम्मले अहिले सहजै काम पाउने वातावरण छैन ।
गायन र सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका पूर्वाञ्चल बागिना कला केन्द्रकाका अध्यक्ष भक्तिराज राईले प्रदेश १ मा यस्ता प्रतियोगिता बन्द रहँदा कलाकारले प्रतिभा प्रदर्शन गर्न नपाएको साथै धेरै कलाकारको रोजीरोटी खोसिएको बताउँछन् । ‘हामी कलाकारको त काम नै नै यही हो, भीडभाड गर्नुभएन, स्वभाविक हो तर अहिलेसम्म यस्ता कार्यक्रम बन्द हुँदा प्रतिभा प्रदर्शन गर्न खोज्नेले प्रतिभा प्रदर्शन गर्न सकेका छैनन् भने यहाँ यस्ता प्रतियोगिता आयोजना गरेर जीविका चलाउनेको पनि हालत पतला भइसकेको छ ।’ उनी भन्छन् ।
म्युजिक भिडियोमा अफर आउने बताउने धरानकी मोडल सिमरन श्रेष्ठ अहिले ठप्प रहेको बताउँछिन् । ‘हालसम्म ९ वटा म्युजिक भिडियो खेलिसकेको छु, अफर पनि आइरहेको थियो’, उनले विश्वास व्यक्त गरिन्, ‘तर समय नै यस्तै छ के गर्नु, अहिले अफर आउन छाडेको छ, विस्तारै सहज होला नि ।’

चलचित्र, म्यु्जिक भिडियो, टेली चलचित्र इत्यादिको सुटिङ र प्रदर्शन रोकिएको रोकियै छ । यसले सयौं प्राविधिक र अन्य कर्मचारी बेरोजगार बनेका छन् । मेला, महोत्सव नहुँदा कलाकारको आम्दानी पनि गुम्दै गएको छ । अहिले जति ठूलो भीड उर्लियो उति नै सफल मानिने साङ्गीतिक क्षेत्र पनि अहिले धरासायी छ । चलचित्र क्षेत्रका कलाकारले पनि काम पाएका छैनन् ।
गीत–सङ्गीत क्षेत्रले युटयुबमा मनोरञ्जन दिएपनि त्यो पर्याप्त होइन । अझ भन्ने हो भने चलचित्र, म्यूजिक भिडियोमा पर्दापछाडि काम गर्ने हजारौंको रोजगारी गुमिसकेको छ । कोरोना कहर कम भएर विस्तारै चलचित्र हल खुल्लान्, मेला महोत्सवमा रमझम शुरु होला, गीत–सङ्गीत, कन्सर्ट आयोजना होलान्, तर, अवस्था पहिलेकै जस्तो हुन भने केही वर्ष लाग्नेछ ।
काठमाडौंमा मिस नेपाल भइसकेको छ । अहिले प्रदेश १ मा पनि ‘ब्युटी प्याजेन्ट’ लगायतका विभिन्न कार्यक्रमहरु विस्तारै सुचारु हुन थालेका छन् ।
धरानमै पनि मिस्टर एण्ड मिस हेरिटेज नामको ब्युटी प्याजेन्ट आयोजना हुन थालेको यस्ता कार्यक्रम आयोजना गरिरहने निश्चल पलिखे बताउँछन् । ‘सतर्क त सबै हुनैपर्छ, यस्तो कार्यक्रम सतर्क हुँदै आयोजना भइरहेका छन्’, उनले भने, ‘अब एक दुई महिनामा सहजै यस्ता कार्यक्रम हुन थालिहाल्छन् ।’ उनले बिर्तामोड, इटहरीमा पनि ब्युटी प्याजेन्टलगायतका कार्यक्रम हुन थालेको बताउँछन् ।
प्रदेश १ को मात्रै कुरा गर्ने हो भने अहिले एउटा चर्चाको विषय बनेको छ– वैशाखमा चलचित्र महोत्सव आयोजना हुने । कोरोना कहरका कारणले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान बनाउन नेपाल चलचित्र महासंघ, प्रदेश १ ले चलचित्र महोत्सव २०७८ आयोजना गर्न लागेको हो । मिति नै तोकिएको महोत्सव वैशाख १७ देखि शुरु भई तीनदिनसम्म चल्ने महासंघका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।
प्रदेश १ को पर्यटकीय स्थानलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको हो । ‘कोरोना कहरले नै चलचित्र क्षेत्र सुस्ताएको छ, यस महोत्सवले अझै गति दिन्छ भन्ने आशा लिएका छौं’, अध्यक्ष प्रधानले भने, ‘यसपछि मनोरञ्जनको बजार चम्किन्छ र चलायमान हुन्छ भन्ने पनि आशा हो ।’
धरानको एक कन्सर्टमा युवापुस्ता । तस्वीर फाइलः हाम्रो कोशी आवाज


कोरोनाको कहरअघि धराने पुस्ताको मनोरञ्जन, भिडियोमा ।