विराटनगरः विराटनगर–१५ मा एक व्यक्तिको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
सोही स्थान बस्ने ६५ वर्षीया बिखियादेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुका ७ बजे मे७प ६३३२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बिखियादेवीलाई ठक्कर दिँदा उनि गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा राति १० बजे मृत्यु भएको कविन्द्रकुमार कार्कीले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल र चालक रतुवामाई–७ का विक्रम साह नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ । यस्तै, ट्याक्टर सडक खस्दा एकको मृत्यु भएको छ । फिदिम न.पा. १ बतासेस्थित भित्री कच्ची सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पराल लोड भएको मे१त ४१८५ नं. को ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अं. १०० मिटर तल खस्दा दुर्घटना भएको छ । दुर्घटनामा रामधुनी झुम्का बस्ने वर्ष २६ को सन्तोष लम्जेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, ट्याक्टरमा सवार जिल्ला पाँचथर फिदिम नपा ४ बस्ने वर्ष २२ को शरण मङग्रान्ती सामान्य घाइते भएका छन् ।