धरानः धरानकी केविका खत्री र बुद्ध लामाको टिम ‘डान्सिङ विथ द स्टार नेपाल’ को फाइनलमा पुगेको छ ।
धरानकी केविका र नेपाल आइडलका बिजेता बनिसकेका बुद्ध लामाको जोडी फाइनलमा पुगेको हो ।
धरान–१७ रेल्वेकी स्थायी बासिन्दा केविका हिमालय टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो को फाइनलमा उक्लिएकी हुन् । ‘जित्छु भन्ने आशा लिएर कडा मिहिनेत गर्दै आएका छौं’, उनले फोन सम्पर्कमा भनिन्, ‘सक्दो सहयोग गरिदिएर जिताइदिन हुन विनम्र अनुरोध गर्दछु ।’
बुद्ध लामाले पनि फाइनलमा जित्ने हिसाबले टिम जोडदाररुपमा लागिपरेको बताए । ‘जित्ने नजित्ने भन्ने कुरा दर्शकहरुको हातमै हो’, उनले भने, ‘च्यालेन्जिङ गीतमा नाच्दैछौं, जुन गीतमा नाच्नका लागि निकै गाह्रो छ तर पनि सक्दो कोसिस गरिरहेका छौं ।’
केविकाले रोमान्टिक गीतमा नृत्य पस्किने बताइन् । उनले दर्शकहरुका लागि भोट माग्न छुटाइन् । ‘हामी रोमान्टिक गीतमा प्रस्तुति दिँदैछौं, भोलि ९ बजेसम्म भोट गर्ने समय छ, प्लिज भोट गरिदिनुहोस् ल ।’
उनले यसअघि भोटिङका लागि सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरेकी छिन् । ‘देश विदेशमा बस्नु हुने नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्णमा हृदयदेखि नै कोटी कोटी धन्यवाद दिन चाहन्छु । तपाईहरुको साथ, सपोर्ट, माया अनि आशिर्वादको कारण हामी डान्सिङ विथ स्टार नेपालको टप ३ (ग्राण्ड फाइनल) प्रवेश गरेका छौं ।’ उनले भनिन्, ‘हामीलाई नेपालको पहिलो डान्सिङ स्टारको बिजेता बनाउन चाहनुहुन्छ साथै हाम्रो प्रस्तुति मन पर्छ भने धेरै भन्दा धेरै भोट गरिदिनु हुन जिनम्र अनुरोध गर्दछु ।’
हामीलाई भोट गर्न Ime Pay App download गरेर Events मा गई Voting Code 01 मा भोट गर्न सक्नु हुनेछ ।
नेपालमा ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स रियालिटी शो निकै रुचाइएको शो मा पर्छ । यस कार्यक्रममा १२ जना स्टार कलाकारले १–१ जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिष्पर्धा गर्दै आएका छन् । उनले कोरियोग्राफरसहित पार्टनर बुद्धलाई सिकाएर अघि बढाइरहेकी छिन् ।
छोरीको प्रतिभाबारे बुझेको बाबु काजी खत्रीले पनि भोट गरेर सक्दो सहयोग गर्न अनुरोध गरेका छन् । टेम्पो चालक उनी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी अञ्चल सदस्य समेत हुन् । टेम्पो चलाएर छोरालाई प्लस टु पढाइसकेको र छोरीलाई स्नातक तह पढाइसकेका छन् । ‘मैले जतिसक्दो छोरीको सपना पूरा गर्न लागिरहें’, उनले भने, ‘टेम्पो चलाएर छोरीको जे सपना देखेकी छिन्, सपना पूरा गर्न लागिरहेको छु, यसपटक जित्ने आशा लिएका छौं, धरानलगायत देशविदेशमा रहनुहुने नेपाली दाजुभाइले भोट दिएर जिताएको हेर्ने र आफू र छोरीले आफ्नै सपना पूरा गरे धोको फुकाएर रुने मेरो धोका पूरा गरिदिनुहोला ।’
केविका छमछमीमा पनि पाँचौ बनेकी थिइन् भने लेटमी डान्स सिजन १ को फाइनलिष्ट हुन् ।
