Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कांग्रेसको सम्मान

हाम्रो कोशी आवाज
पुष ४ २०७७, शनिबार
धरानमा कांग्रेसको सम्मान

धरानः धरानमा नेपाली कांग्रेसले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्णपदक र रजत पदक बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
सागमा स्वर्ण पदक विजेता ७ जना खेलाडीहरुलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । तेक्वान्दो विधामा स्वर्णपदक बिजेता खेलाडीहरुमा सिना मादेन, सुशिला राई र स्वस्तिमा तामाङलाई सम्मान गरिएको छ । उनीहरुलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । कार्यक्रममा कराँतेका दीपेश शाक्य, बक्सिङका वरिष्ठ प्रशिक्षक अनुप लामा, टेबलटेनिसका प्रशिक्षक विनोद शाक्यलाई विशेष सम्मान गरिएको थियो ।
यस्तै, फुटबलका हेमन्त थापा मगर, गल्फका खेलाडी टंकबहादुर कार्की, शुक्रबहादुर राई र निरज तामाङलाई पनि १० हजार नगदसहित नै सम्मान गरियो । यस्तै, सागमै रजत पदक जित्ने तेक्वादोकी खेलाडी युनिषा राई, बास्केटबलकी खेलाडी डा.आशा राई, सागमा कास्य पदक जिताउने बास्केटबल प्रशिक्षक विकास चाम्लिङ, तेक्वान्दोका प्रशिक्षक मदन राई र गोपाल राईलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको थियो ।
सो अवसरमा धरानस्थित बीपी प्रतिष्ठानकी नर्स पदमकुमारी राई, धरान उपमहानगरपालिकाकी सरसफाइकर्मी गोविन्द मरिकलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको थियो ।
यस्तै, महिला अधिकारकर्मी मिना पुलामी, राजनीतिकर्मी हेमलाल सुब्बा, यातायात मजदुर विकास राई, होप धरानका निश्चल पलिखेलाई पनि सम्मान गरियो । यस्तै, रेडक्रस सोसाइटी सुनसरी, सञ्जीवनी पुर्नस्थापना केन्द्र, धरान जेसिज, लायन्स क्लब, परिवार नियोजन संघलगायतका संस्थालाई पनि सम्मान गरियो । बास्केटवलका खेलाडी प्रदीप गुरुङलाई १० हजार नगद प्रदान गरिएको थियो । उनी बिरामी छन् ।
कार्यक्रमका प्रमुख अतिथि कार्यक्रममा केन्द्रीय सदस्य एवम् खेलकुद विभाग प्रमुख मोहन बस्नेत, प्रदेश १ का पूर्व प्रदेश प्रमुख डा.गोविन्द सुब्बा, नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला, खेलकुद विभागका केन्द्रीय उपाध्यक्ष एवं सभासद मोहनकुमार राई, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, कार्यक्रमका अध्यक्ष एवं नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका केन्द्रीय सदस्य किशोर राई, लगायतले उनीहरुलाई खादा र नगद पुरस्कारले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष किशोर राईले खेलकुदका गतिविधि भइरहे खेलाडीको पनि विकास हुने बताए । उनले सरकारले खेलकुदका गतिविधि चाँडै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस पार्टीको संरक्षण, केन्द्रीय खेलकुद विभागको आयोजनामा धरानमा रक्तदानको साथै सम्मान कार्यक्रम आयोजना भएको हो ।
योसँगै कांग्रेसले बृहत रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रममा ७७ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ । ‘कोभिड–१९ को संक्रमणका कारण देशैभरी रगत अभाव भएको हुनाले कार्यक्रम आयोजना गरिएको हो’, अध्यक्ष राईले भने ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: पुष ४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend