धरानः धरानमा सुविधा सम्पन्न शुभम कृषि उपज बजार शुरु हुने भएको छ ।
तरकारी, फलफूल, माछा मासु, दूधजन्य वस्तु, कस्मेटिक्स, चमेना गृहलगायत आवश्यक दैनिक उपभोग्य वस्तुहरु एकै स्थलमा पाइने व्यवस्था गरिएको छ । धरान–७ को भैडी किनारमा रहेको सुनिल शेखर श्रेष्ठ, निश्चलमोहन पलिखे र भरतमोहन पलिखेको करिब १० कट्ठा जग्गामा ११ वर्षका लागि लिजमा लिएर सो सब्जी बजार निर्माण गरिएको हो । काजी गिरी, रुद्र न्यौपाने, दिलबहादुर राई र मुक्ति बन्धु अधिकारी मिलेर सो बजार शुरु गर्न लागेका हुन् ।
धरान आसपासका कृषकहरुलाई र विभिन्न ठाउँमा छरिएर रहेका व्यवसायीहरुलाई सिधै सम्पर्क गर्ने र उपभोक्ताहरुलाई शुलभ मूल्यमा सागसब्जी उपलब्ध गराउन यो बजार निर्माण गरिएको कृषि उपज बजार धरान–१३ का पूर्व अध्यक्ष समेत रहेका सञ्चालक काजी गिरीले बताए ।

शौचालय, पार्किङ, सुरक्षा गार्ड, सिसी क्यामेरासहित नियमित सरसफाइको व्यवस्था गरिएको ५९ वटा कोठा रहेको सो स्थानमा जिउँदो र जाता माछा, सफा स्वास्थ्यकर मासु उपलब्ध हुनेछ । करिब ८० लाख लगानीमा निर्माण गरिएको सो बजारमा १० हजार ७ हजार र ५ हजारसम्मको कोठा भाडा रहेको छ । हाल सम्म सम्पूण कोठाहरु भाडा लागिसकेको र धरानका मुख्य केन्द्रहरुमा यस किसिमको बजार सञ्चालन गर्ने योजना समेत रहेको रुद्र न्यौपानेले बताए ।
यस किसिमको बजार सञ्चालनले कृषक, व्यवसायी र उपभोक्ता तिनै पक्षलाई फाइदा पुग्ने र धरानको विकासमा समेत टेवा पुग्ने उनीहरुको विश्वास छ ।