धरानः राष्ट्रिय जनमुक्ति पार्टीले देशको कार्यकारी प्रमुख बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटनको घटनाले देशलाई अस्थिरतातर्फ धकेलेको निष्कर्ष निकालेको छ ।
समसामयिक राजनीतिक सन्दर्भमा धरानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केपी पालुङ्वाल भने, ‘यो कदमले देशलाई पुनः अस्थिरतातर्फ धकेल्ने निश्चितप्रायः छ साथै यो कदम जति खेदजनक र भत्र्सनायोग्य छ, उति नै रहस्यमय समेत देखिएको छ ।’
उनले ५ वर्षका लागि सुविधाजनक बहुमत पाएको नेकपाले संसद विघटन गरेर देशलाई भड्कालोमा फसाउने कुचेष्टा समेत गरेको जनाए । ‘संसद विघटनको यो प्रकरणले हालसम्म प्राप्त उपलब्धिहरुको स्थायित्वका लागि चुनौती समेत खडा गरेको छ’, उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्राप्त उपलब्धिको रक्षाका लागि संघर्षरत अग्रगामी शक्तिहरु सहकार्य गरी अघि बढ्न पनि पार्टीले आह्वान गरेको छ । ‘हामीले जसरी भएपनि उपलब्धिको रक्षा गर्नुको विकल्प छैन’, पार्टी सचिव बलदीप राईले भने, ‘यसको लागि अग्रगामी शक्तिहरुको सहकार्य जरुरी छ ।’ अध्यक्ष पालुङवाले निर्वाचन तोकिएको समयमा हुनै नसक्ने समेत ठोकुवा गरे । ‘खासमा निर्वाचन पनि तोकिएकै समयमा हुँदैन, न्यायलय पनि राजनीतिमा होमिएको हुँदा सही निर्णय आउन सक्नेमा आशंका छ ।’ उनले भने ।
तस्वीरः लक्ष्मण थापा
