Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा घाइते खेलाडीलाई २ लाख सहयोग

हाम्रो कोशी आवाज
पुष ८ २०७७, बुधबार
धरानमा घाइते खेलाडीलाई २ लाख सहयोग

धरानः प्रदेश १ का बास्केटबल खेलाडी प्रदिप गुरूङको उपचार सहयोगार्थ २ लाख नगद सहयोग संकलन भएको छ ।
संकलित रकम बुधबार भएको मैत्रीपूर्ण च्यारिटी बास्केटबल खेलमा खेलाडी गुरूङलाई हस्तान्तरण गरिएको छ । गुरूङको उपचारका लागी धरान सरोकार समाज काठमाडौंका अध्यक्ष प्रभु श्रेष्ठबाट प्राप्त १० हजार सहित १ लाख २७ हजार ५ सय ९० रूपैयाँ सुनसरी तथा धरान बास्केटबल संघको समन्वयमा विभिन्न संघसंस्थाहरू तथा व्यक्तिहरूबाट संकलन भएको राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी गराए ।
गुरूङका लागि खेलमैदानमा नै धरान उपमहानगरपालिका वडा १८ का अध्यक्ष प्रविण राईले १५ हजार सहयोग गरेका छन् । यस्तै, एन्फा प्रदेश १ का अध्यक्ष किशोर राईले १० हजार, नेपाल बास्केटबल लिगबाट १० हजार, झापा बास्केटबल संघबाट ५ हजार तथा हिमालयन मेघा कलेजबाट ५ हजार प्रदान गरिएको छ । यसैगरी, होप धरानबाट संकलित २७ हजार ४ सय १० रूपैयाँको डमी चेक समेत प्रदान गरिएको छ ।
२८ वर्षीय खेलाडी गुरूङको दाहिने घुँडामा लिगामेन्ट च्यातिएको र शल्यक्रिया नै गर्नुपर्ने चिकित्सकले बताएको प्रशिक्षक चाम्लिङले जानकारी गराए । लकडाउनका बेला खेलाडीहरूलाई बास्केटबल संघले सेल्फ ट्रेनिङ गर्न भनेको बेला खेलाडी गुरूङ चोटग्रस्त भएका थिए । गुरूङको शल्यक्रियाको लागी करिब २ लाख ५० हजार खर्च हुने भएको र उपचारपछि खेल जिवनमा फर्कन नसक्ने प्रशिक्षक चाम्लिङले बताए ।

प्रदेश १ का लागी दुई पटक सम्म खेल खेलका २८ वर्षीय गुरूङ इटहरी–१९ मा परिवारसँग बस्दै आएका छन् । सामान्य परिवारमा हुर्किएका उनी लकडाउनका बेला स्वःप्रशिक्षण गरिरहेका बेला चोटग्रस्त भएका थिए । गुरूङ जिल्ला र क्षेत्रीय च्याम्पियन हुँदै धरानमा भएको ७ औ तथा दाङमा भएको ८ औ राष्ट्रिय खेलमा प्रदेश १ को टिमबाट सहभागिता जनाएका थिए ।
यसैबीच धरान–१८ स्थित डिपो उच्च माविको कोर्टमा धरान बास्केटबल टिम र झापा बास्केटबल टिमबीच भएको मैत्रीपूर्ण खेलमा धरानले झापालाई ७५–२९ अंकले पराजित गरेको छ । खेलमा धरानबाट सुजन खालिङ एक्लैले १६ अंक र झापाबाट सर्वोद्ध राईले १४ अंक बटुलेका थिए । खेलका विजेता तथा उपविजेतालाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरीएको थियो । मैत्रीपूर्ण खेल धरान बास्केटबल संघको आयोजना, नेपाल बास्केटबल लिग तथा डिपो उच्च माविको सहयोग तथा सुनसरी बास्केटबल संघको सहकार्यमा भएको हो ।
मैत्रीपूर्ण खेलमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले उपचारको लागि प्रतिष्ठानले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
खेलमा नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, डिपो उच्च माविका प्रधानाध्यापक राजकुमार राई, युवा नेता दीपक बनेपाली, होप धरानका अध्यक्ष निश्चल पलिखे, अग्रज पत्रकार तथा लेखक जनकऋषि चाम्लिङलगायतको उपस्थिति रहेको थियो ।
तस्वीर सौजन्यः सञ्जय याक्खा

प्रकाशित मिति: पुष ८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend