धरानः संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन संगठन अनेरास्वविय र युवा संघले धरानमा प्रदर्शन गरेको छ ।
छाताचोकस्थित पार्टी कार्यालयबाट निस्किएको रयाली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले संसद विघटन गरेर प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक ‘कु’ गरेको भन्दै सो निर्णय खारेज गर्न माग गरे ।
प्रदर्शनमा सहभागी भएकाहरुले असंवैधानिक निर्णय खारेज गरलगायतका नारा लगाएका थिए । कार्यक्रममा बोल्दै नेकपाका प्रदेश सदस्य तथा धरान इन्चार्ज अइन्द्रविक्रम बेघाले दुई तिहाईको बहुमत प्राप्त सरकारले लोकतन्त्रको रक्षा गर्न नसकेको बताए । ‘प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्छु’, उनले भने, ‘यस्तो कदमले लोकतन्त्रको रक्षा हुन सक्दैन ।’
गैरसंवैधानिक र जनविरोधी ‘कु’ ले प्रतिगमन उन्मुख गरेको उनको भनाइ छ । ‘यसले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता जस्ता राजनीतिक उपलब्धीहरुमाथि प्रहारलाई गरेको छ’, उनले भने, ‘यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सीमित उपलब्धि पनि गुम्ने खतरा टड्कारो देखिएको छ, त्यसैले हामी सधैं सडकमा हुन्छौं ।’ यो कदमको सशक्त प्रतिवाद गर्न सबै सचेतवर्गमा उनले आह्वान गरे ।
‘हाम्रो प्रदर्शन ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएका कारण संसद पुर्नस्थापनाका लागि हो’, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य केन्द्रीय सदस्य हरि लिम्बूले भने, ‘पुनस्थापना नभएसम्म सडकमै हुन्छौं ।’ उनले एउटा नेताको ‘सन्की’ले देश प्रतिगमनतर्फ जाने तर्क गरे । कार्यक्रममा नेकपाका जिल्ला तहका नेता लिला प्रधानले पनि बोलेका थिए ।
गत आइतबार संसद विघटन भएसँगै यसअघिको नेकपा औपचारिक रुपमा दुई धारमा देखिएको छ । एक धारको नेतृत्व माधव–प्रचण्डले गरेका छन् भने अर्को धारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
तस्वीरहरुः लक्ष्मण थापा





