धरानः धरानमा प्रकृतिपूजक लिम्बू जातिहरुको महान चाड चासोक तङनामको रौनक यस वर्ष खासै भएन ।
लिम्बू जातिहरूले उधौलीको अवसरमा २०५० सालदेखि यसरी नै भेला भएर धरानमा चासोक तङनाम मनाउने गर्दथे । गत वर्षहरूमा झैं यस वर्षपछि सांस्कृतिक, मेला र उत्सवसहितको कार्यक्रम राखेर चासोक तङनाम मनाइएन । ‘कोरोनाकै कारणले संस्कृति जर्गेनाकै लागि भएपनि केही महत्वपूर्ण कार्यक्रमहरु भने भएका छन्’, चुम्लुङका केन्द्रीय सचिव योगेन्द्र पालुङ्वा लिम्बूले भने, ‘पुर्खा सम्झिने, श्रीजङ्गाको शालिकमा माल्यार्पण र चुम्लुङहीममा भेला भएर रमाइलो गर्ने काम भएका छन् ।’
उनका अनुसार धरानमा न्वागी पूजा, लिम्बूहरुको गढी विजयपुर दरबारमा च्याब्रुङ बजाएर पुर्खाहरुलाई सम्मान, तीनकुनेमा रहेको श्रीजङ्घा लिपीका प्रवर्तकको शालिकमा माल्यापण आदि कार्यक्रम भएका छन् ।
किरात याक्थुङ चुम्लुङले वर्षेनी चासोक तङ्नाम धुमधामसाथ मनाउँदै आएको थियो । सुनसरी जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङवाङका अनुसार यस वर्ष कोरोना महामारीकै कारण उत्सवलगायतका सांस्कृतिक कार्यक्रम नभएको बताए । ‘पाकेका अन्नवाली इष्टदेवहरुलाई चढाउँदै बिहानैबाट धरान–१५ चुम्लुङ हिम परिसरमा चासोक पूजा गरिदै चासोक तङनाम मनाइयो’, उनले भने, ‘त्यसपछि पुर्खाहरु सम्झिने कार्य गरेका छौं ।’
लिम्बू जाति केलाङ र धान नाचमा रमाउँदै चासोक तङनाम मनाउने गर्दथे । ‘प्रकृतिपूजक लिम्बू जाति मंसिरे पूर्णिमादेखि उधौली पर्वलाई महान् चाडका रूपमा धूमधामका साथ मनाउँछन् । लिम्बू बस्तीमा ढोल र झ्याम्टाको तालमा यति बेला केलाङ (च्याबु्रङ) नाच घन्किरहेको देख्न पाइन्थ्यो । तर यस वर्ष कोरोनाकै कारण खासै कार्यक्रम हुन सकेन ।’ चुम्लुङका सदस्य शिव इश्वोले भने ।
उधौलीयाम सुरु भएसँगै लिम्बूले मंसिर पूर्णिमाको दुई दिन अघिदेखि घरघरमा र चुम्लुङ हिममा जम्मा भएर ‘चासोक तङ्नाम’ मनाउने चलन रहेको जिल्ला उपाध्यक्ष स्वर्णिमहाङ फोम्बोले जानकारी दिए । लिम्बूहरूले चासोकको दिन चुम्लुङ हिममा भेला भएर आफ्नो खेतमा पाकेको नयाँ अन्न धान, कोदो, मकै, दाल, भटमास तागेरा निङ्वाफु माङलाई चढाएर घरघरमा पूजा गरी परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर खाने प्रचलन छ । यस समयमा विस्तारै लोप हुन लागेको लिम्बूहरूको याराक (धान नाच), केलाङ (च्याबु्रङ नाच), पकलुम लेप्मा (छेलो हान्ने), थाक थाक्मा (तान बुन्ने), ली आप्मा (गुलेली हान्ने) संस्कृतिलाई जोगाउन लिम्बूहरूको नयाँ पुस्ता लागिपरेको हुन्छ ।
यसअघि धरानमै थुमगत, थरगत संस्थाका यालाङ, केलाङ, प्रदर्शनी, एकराते तङसिङ, तथा बेलुकी सांगीतिक तथा साँस्कृतिक कार्यक्रम आयोजना समेत हुने गरेको थियो । यस्तै, हाक्पारे, ख्याली, पालाम, यालाङ, साम्लो, छेलो हान्ने, पङलुङ लेप्मा कार्यक्रम पनि हुन्थे ।
तस्वीरः हाम्रो कोशी आवाज



















