धरानः ‘धरान शहर’ बोलको रेकर्ड गरी म्युजिक भिडियोसमेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचारप्रसारमा थप मद्दत पुरयाएकोमा धन्यवाद दिँदै उनीहरुलाई सम्मान गरिएको छ ।
धरान सरोकार समाज, काठमाडौँले धरानमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको हो । सो गीतका गीतकार हर्क चुम्मे, संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज काठमाडौंका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ र अतिथिहरु आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश नं. ‘१’ को सहसंयोजक बासुदेब बराल, सुनसरी उद्योग बाणिज्य संघका सदस्य तथा पर्यटन व्यवसायी एलिना मगर, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ र समाजसेवी कृष्णप्रसाद श्रेष्ठले सम्मानपत्र र खादा लगाइ सम्मान गरेका थिए ।
कार्यक्रममा बासुदेब बरालले धरानको पर्यटन प्रवद्र्धनमा यस गीतले उल्लेखनीय भूमिका खेलेको बताउँदै भविष्यमा अंग्रेजी सब–टाइटल पनि गीतको भिडियोमा राखे सुनमा सुगन्ध हुने बताए । अध्यक्ष प्रभुप्रसादले धरान र यस वरपरका प्रमुखस्थलहरु सबै समेटेकोले एउटा उत्कृष्ट सृजना बनेको र यो गीत र म्युजिक भिडियो धरानको पर्यटनको प्रचारप्रसारको प्रमुख दस्तावेस बनेकोले यसका सम्पूर्ण सर्जक तथा सहयोगी हात हरुलाई धन्यवाद दिए । कार्यक्रम सञ्चालन नेमिता आङबुहाङले गरेकी थिइन् ।

