धरानः भेडेटारमा बन्न लागेको स्काइवाकको निर्माण एक वर्षभित्रमा सकिने भएको छ ।
प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा प्रदेश सरकारको अगुवाइमा तथा निजी क्षेत्रको लगानीमा भेडेटारमा स्काइवाक बन्ने भएको हो ।
भेडेटारको पूर्वाधार विकासका लागि वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालि बुढीगंगा मोरङले स्काइवाक निर्माण गर्ने भएको हो । प्रदेश सरकारले भेडेटारमा स्काईवाक निर्माणका लागि प्रस्ताव आह्वान गरेकोमा आफ्नो कम्पनी छनोट भएको प्रालिका प्रोजेक्टर डाइरेक्टर सञ्जीव रोक्काले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा साँगुरीगढी गाउँपालिका, धरान उपमहानगरपालिका र प्रदेश लगानी प्राधिकरणबीच भेडेटार स्काइवाक परियोजना निर्माण तथा सञ्चालनबारे समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।
सो स्काइवाक धरान र धनकुटाको सीमानामा रहेको चाल्स प्वाइन्टनजिकै बन्ने भएको हो । स्काइवाकमा शिशाको ४० मिटर बाटो बनाएर मान्छे हिडाइन्छ । हाल लगानी स्वीकृति भइसकेको छ भने २४ करोडको लगानीमा स्काइवाक बन्ने भएको हो ।
होटल एसोसियसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले यहाँ स्काइवाक बनेपछि पर्यटक थप बढ्ने विश्वास लिइएको बताए । परियोजनालाई आवश्यक नक्सा, वातावरणीय प्रभाव मूल्यांकनसहित अन्य विषयमा प्रदेश लगानी प्राधिकरणको अगुवाइ हुने भएको छ । लिजको समय अवधि, निर्माण तथा सञ्चालनको ढाँचा लगायत विषयमा परियोजना सञ्चालन पछि परियोजनाको रोहबरमा टुङ्ग्याउने समझदारी पत्रमा उल्लेख छ ।