धरानः ‘विदेश पुगेको थिएँ, वर्षदिनपनि टिक्न सकिनँ’, धरान–१८ मा कफी हाउस सञ्चालनमा ल्याएका रञ्जित राई भन्छन्, ‘स्वदेश फर्किएर केही गर्छु भन्ने अठोट लिएर फर्किएको थिएँ, अहिले कफी हाउस र जुस हाउस सञ्चालनमा ल्याएका छौं ।’
उनीहरुले सञ्चालनमा ल्याएको कफी हाउस संयुक्त लगानीमा हो । विदेशमै काम गरेका धरानकै विजय तामाङ र रञ्जितले संयुक्त लगानीमा कफी र जुस हाउस सञ्चालनमा ल्याएका हुन् ।
सुम्निमा चाम्लिङ राई पत्रकार हुन् । उनी स्थानीय पत्रपत्रिका हुँदै हाल कान्तिपुर दैनिकमा कार्यरत छिन् । इटहरी बेसमा काम गर्ने उनले शुरुमा श्रीमानलाई विदेश पठाउन अनकनाएकै थिइन् तर पत्रकारिता पेशाबाहेक जीवन धान्ने अन्य माध्यम थिएन । त्यसपछि सरसल्लाहमै रञ्जित विदेश पुगे । तर त्यहाँ वर्षदिन पनि टिक्न सकेनन् ।
‘उता श्रीमानले यतिको खट्दा त स्वदेशमै केही हुन्छ भन्नुभयो, मैले पनि फर्किनुहोस् भनें,’ उनले खुलाइन्, ‘जुससँगै कफी हाउस पनि सञ्चालनमा ल्याऔं भन्ने सरसल्लाह भयो, त्यसअनुसार जुस र कफी एकैसाथ सञ्चालनमा ल्याउने निर्णय गरियो ।’
रञ्जितले विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गर्न सकिने धारणा आफूले पालेर फर्किएको बताए । ‘विदेशतिर हेरियो, धेरै दुःख गर्नुपर्ने, पसिना बगाउनुपर्ने अनुभव मैले गरें’, उनले थपे, ‘त्यही भएर बरु जति पसिना बगाउनुछ धरानमै बगाउँछु भनेर फर्किएको हुँ ।’
धरान–१८ स्थित बुद्धचोकमा उनीहरुले अहिले ‘डेली डोज’ नामक कफी हाउस सञ्चालनमा ल्याइएका हुन् । २८ लाख लाख रूपैयाँको लगानीमा कफी हाउससँगै जुस, बेकरी, बिबिक्यु सञ्चालनमा ल्याइएको विजयले जानकारी दिए ।
८ वर्ष विदेशमा बसेका विजय यस्तै कफी क्याफेमै काम गरेर अनुभव सङ्गालिसकेका व्यक्ति हुन् । ‘कफी कसरी बनाउने, कफी कस्तो हुनुपर्छलगायतको अन्य अनुभव पनि बटुलेको छु’, उनले भने, ‘अब कफीमा धरानेलाई सन्तुष्ट पार्ने काम हाम्रो हो ।’
कफी स्वास्थ्यका लागि उपयोगी पेय पदार्थ हो र यो स्वदेशमा उत्पादन हुन्छ । नेपालीमा कफी पिउने बानी भर्खर बस्न थालेको उनी बताउँछन् । ‘नेपालीहरुको कफी पिउने बानी बस्न थालिसकेको छ, यो पनि चिया खाएजस्तै हो ।’ उनले भने ।
उनले विदेशमा श्रम, पसिना बगाउनुभन्दा स्वदेशमै केही गरे आफू, परिवार, समाज र राष्ट्रलाई नै धेरै फाइदा पुग्ने अनुभव बटुलेको बताए । ‘विदेशमा यति दुःख गर्ने नेपाली पनि छन् कि’, उनले भने, ‘त्यतिको दुःख नेपालमै गर्न सके धेरै फाइदा हुन्छ ।’
तस्वीरहरुः लक्ष्मण थापा









