Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘सटल बस’ चलाउन सकिँदैन सरकार ?

हाम्रो कोशी आवाज
माघ १४ २०७७, बुधबार
धरानमा ‘सटल बस’ चलाउन सकिँदैन सरकार ?

धरानः धरान हुँदै विराटनगर विमानस्थल पुगेर काठमाडौंसम्मको यात्रा तय गर्ने धराने धेरै छन् । कतिबेला विराटनगर पुगिन्छ भनेर चिन्ता लिने धेरै छन्, यो नै चिन्ताको विषय पनि हो । सार्वजनिक सवारी चढौं समयमा नपुगिएला भन्ने चिन्ता, सवारी रिजर्भ गरौं भाडादरको कुरा । यो सबैलाई परेको र गढेको विषय हो ।
धरानबाट दैनिक २० देखि ३० जनासम्म त सार्वजनिक गाडी (भ्यान, कार आदि) रिजर्भ गरेर जाने गरेका छन् । त्यस्तै, अन्य सवारी प्रयोग गर्ने पनि धेरै छन् । दिनमै एकजना प्यासेन्जरको २ हजारदेखि ३ हजारसम्म सवारी साधन रिजर्भमै खर्च हुने गरेको छ । सार्वजनिक सवारी चढे भाडा सस्तो भएपनि समयमा नपुगिने समस्या ।
यी र यस्ता समस्याले हामी धराने पिरोलिएका छौं । त्यसैले धरानदेखि विराटनगर पुग्नका लागि सटल बस चलाउन सकिँदैन सरकार ?
म भन्छु सकिन्छ । दुई तीन वर्षअघि स्व. मेयर तारा सुब्बाको पालामा मैले कुरा पनि उठाएको थिएँ । उहाँले साह्रै सुहाउँदो र गज्जबको प्रस्ताव ल्याउनुभयो भन्नुभयो । उहाँले कार्यान्वयन पनि गर्छु भन्दै प्रक्रिया पनि थालनी गर्नुभएको थियो तर उहाँ स्वर्गबास भइसकेपछि यो कुरा त्यतिकै हराएर गयो । अहिले पनि यो कुरा बेलाबेलामा उठाइरहन्छु तर चासो दिने कोही भएनन् ।
यस्तो बस व्यवसायी र संस्थाले चलाए पनि हुन्छ । यस्तो बसले सुविधा पनि हुन्छ र हाम्रो समय पनि बचत हुन्छ । व्यवसायीले रोजीरोटीका लागि विरोधचाहिँ गर्लान् तर पनि समन्वय गरेर अघि बढ्दा हुन्छ । अहिले पनि उपमहानगरपालिकामा यो कुरा राखिरहेको छु । इच्छाशक्ति भए नबन्ने भन्ने केही छैन ।
धरानमा विमानस्थल बन्छ भनेको धेरै भएको छ । तर अब विमानस्थल बन्दैन र चाहिँदैन पनि । भोट माग्दा विमानस्थल बनाउँछौं भनेको धेरै भएकोले पनि यो दलहरुले भोट माग्ने थलो मात्रै बनेको मेरो बुझाइ छ । अहिलेका मेयर तिलक राईले पनि विमानस्थल बने बनिहाल्छ, नबने केही गर्छु अर्थात् यो विमानस्थलको विषय वार कि पार गर्छु भनेकै थिए तर अहिले त्यो कुरा त्यतिकै छ ।
६ लेनको बाटो बनेपछि हामी २० मिनेटमै विराटनगर पुग्छौं, त्यही भएर पनि किन चाहियो धरानमा विमानस्थल ? विराटनगरमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेतर्फ हामीले पहल थाले भइगयो नि ।
धरानस्थित हात्तिसार क्याम्पसका क्याम्पस प्रमुख डा. लिम्बूसँगको कुराकानीमा आधारित ।

प्रकाशित मिति: माघ १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend