Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरान उपमहानगरले दियो बेरोजगारलाई रोजगार

हाम्रो कोशी आवाज
माघ १५ २०७७, बिहिबार
अन्ततः धरान उपमहानगरले दियो बेरोजगारलाई रोजगार

धरानः धरानमा बेरोजगारलाई रोजगार कार्यक्रम शुरू भएको छ । यहाँ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुरू भएको हो ।
धरानमा सशर्त अनुदानअन्तर्गत ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ आएको हो । बिहीबार धरान–२० मा रोजगार कार्यक्रमअन्तर्गत छनौट भएका रोजगारदातालाई आवश्यक पर्ने औजार सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
धरान उपमहानगरका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, वडाध्यक्षलगायतको टोलीले सो औजार सामग्री हस्तान्तरण गरेको हो । यस वर्ष धरान उपमहानगरपालिकाका १ सय ५७ जनाका लागि एक सय दिनको रोजगारी दिने भनेर बजेट प्राप्त भएको सामान्य महाशाखाका वरिष्ठ अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।
उनका अनुसार एकजना रोजगारदाता बराबर ५ सय १७ रुपैयाँ पारिश्रमिक पाउने जनाइएको छ । ‘हामीले धरान उपमहानगरभरिका १६ वटा आयोजनाहरु छनौट गरेका छौं, त्योमध्ये २० नं. वडामा ड्रेनको माटो सफा गर्ने रहेको छ ।’
२० नं. वडामा १५ जनाले रोजगार पाएका छन् । उनीहरुले बिहीबारबाटै काम थालेका छन् । उनले धरान उपमहागरपालिकाका १ सय ५७ जनालाई नै एक सय दिनका लागि काम दिने बताए । उनले अन्य वडामा पनि काम थालनी गरिने जानकारी दिए ।
‘यसपछि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छुट्टै बजेट आउँछ’, उनले भने, ‘यो युवाको कार्यक्रममा चाँहि विशेष गरे १८ वर्ष नाघेको र ५९ वर्षभित्रको मात्र अहिले काम गर्ने रहेको छ, त्यसपछि प्रधानमन्त्री रोजगार कार्यक्रममा चाहिँ ५९ वर्ष नाघेका मानिसहरुले पनि काम गर्न सक्छ । त्यसमा थप आयोजनाहरु छनौट गरेर काममा लगानेछौं ।’ उनका अनुसार अरु वार्डहरुमा ड्रेन सफा गर्ने, खहरे खोला सरसफाइ गर्ने, धरान–४ एउटा बाटोको ट्रयाक बनाइनेछ । उनले क्रमशः २० वटै वार्डहरुमा छनौट भएका कामहरु गर्दै जाने बताए ।
धरान उपमहानगरका मेयर तिलक राईले एक सय दिनको कामले कम्तिमा रोजगारदाताको गुजारा चल्ने बताए । ‘आफ्नै घरगाउँको नाला, ड्रेन खन्ने, तपाईको रोजगारी दिने, समाजमा काम पनि देखिने गरी राज्यले यस्तो परिकल्पना ल्याएको हो ।’
गतवर्ष धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत थोरै बजेट र ढिलो योजना आएको कारण त्यति धेरै प्रभावकारी हुन सकेको थिएन । तर यस वर्ष भने थुप्रै मानिसहरु रोजगारबाट लाभाम्वित हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
उपमेयर मञ्जु भण्डारी सुवेदीले स्वदेशभित्र रोजगारीका पर्याप्त अवसरहरुको सिर्जना र कामलाई सम्मान गर्ने संस्कृतिको विकास गरी रोजगारीका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यस कार्यक्रमको लक्ष्य रहेको बताइन् ।
धरान–२० का वडाध्यक्ष मणिराम राईले आफ्नो वडाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३१ जनाले फारम भरेकोमा १५ जना छनौटमा परेको बताए । उनले विष्णुपादुका सडकअन्र्तगत देवीगाउँदेखि भञ्ज्याङसम्मको ड्रेनको माटो फाल्नुपर्नेछ ।
‘सो ठाउँ लगभग ४.६ किलो मिटर छ । रोजगारदातालाई आफ्नो काम, आफ्नो गाउँ आफै बनाऔं भन्ने उद्देश्य लिएर काम गर्न सुझाएका छौं ।’ उनले भने । उपमहानगरपालिकाले त्यहाँ खटिएका श्रमिकहरुलाई माटो फ्याल्ने ठेलागाडा २ थान (आवश्यक अनुसार थप्ने), बेल्चा ५ थान, सेफ्टी टोपी र एप्रोन हस्तान्तरण गरे ।
उपमहानगरपालिकाले बेरोजगार व्यक्तिका लागि साउन ८ देखि भदौ ७ गतेसम्म न्युनतम रोजगारीका लागि फर्म भर्न आह्वान गरेको थियो । अघिल्लो वर्ष १० लाख रूपैयाँको बजेट आएको थियो । तर यसपटक बढेर ५१ लाख ७० हजार रूपैयाँ बढी अनुदान बजेट आएको हो । ‘अघिल्लो वर्ष १० लाख रूपैयाँ बजेट आएको थियो तर काम गर्न सकिएन’, उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने, ‘तर अब आएको बजेटलाई सही ठाउँमा प्रयोग गर्छौंं, शुरूदेखि नै काम थालनी गर्न लागिपरेका छौं ।’ श्रममा आधारित कार्यक्रमअन्तर्गत यो बजेट आएको हो ।

 

प्रकाशित मिति: माघ १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend