धरानः धरान-१६ स्थित शारदा बालिका नमूना माविमा शुक्रबार भएको बालिका सिङ्गीङ स्टार–२०७७, सिजन–१ को दोश्रो अडिसनबाट उत्कृष्ट १० जना प्रतियोगीहरु फाइनलमा प्रवेश गरेका छन् ।
विद्यालयमा रहेको ज्योतिपुञ्ज बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा २० जना सहभागीहरुमध्ये १० जना फाइनलका लागि छनोट भएका छन् ।
छनोट हुनेहरुमा अरुणा सुनुवार, भीषण लिम्बू, हेमा राई, एसिका राई, अजुमा राई, निशा राई, मनिषा राई, मेनुका खड्का, झर्ना लिम्बू र निषा तामाङ रहेका छन् । प्रतियोगीतामा विद्यालयका कक्षा–६ देखि कक्षा–१२ सम्म अध्ययनरत छात्राहरु सहभागी रहेको प्रधानाध्यापक इन्द्र राईले जानकारी दिए ।
ग्राण्ड फिनाले आगामी माघ ३० गते शुक्रबार हुने क्लबका संरक्षक एवम् शिक्षक पदम लुइँटेलले जानकारी दिए । प्रतियोगीतामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने शिक्षक लुइँटेलले जानकारी दिए । त्यस्तै, अन्य ७ जना प्रतियोगीहरुलाई पनि प्रोत्साहनस्वरुप वेस्ट फर्फमेन्स, वेस्ट भोकल, वेस्ट पब्लिक चोइस, वेस्ट डिस्सिप्लिन, वेस्ट एक्टिभ, वेस्ट ओविडियन्ट र वेस्ट हार्डवर्किङको सबटाइटल प्रदान गरिने प्रधानाध्यापक राईले जानकारी दिए ।
प्रतियोगिताका निर्णायकहरुमा पूर्वाञ्चल बागिना कलाकेन्द्र धरानका अध्यक्ष भक्तिराज राई र गायिका हर्षु राई रहेका थिए । विद्यार्थीहरुका गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले सिङ्गीङ स्टारको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक राईले बताए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशव श्रेष्ठ प्रमुख अतिथी रहेका थिए ।
अतिथिहरुमा १६ नम्बर वडाका वडा सदस्य सुरेशकुमार श्रेष्ठ, मङ्गल तामाङलगायत रहेका थिए । कार्यक्रममा निर्णायकद्वय भक्तिराज र हर्षुले गीत प्रस्तुत गरे । कार्यक्रमको सञ्चालन छात्राहरु रिया राई, रेजिना विक र तुलसा राईले गरेका थिए । कार्यक्रममा गायक तथा पूर्वाञ्चल बागिना कला केन्द्रका अध्यक्ष भक्तिराजले बालिका आइडलका बिजेतालाई पूर्वाञ्चल सिङ्गीङ स्टारमा सिधै टप २० मा लगिने घोषणा गरे ।




