धरानः धरान–१३ मा सार्वजनिक शौचालय नहुँदा समस्या भएको छ ।
सार्वजनिक शौचालय नहुँदा धरानको बीपी पार्क जाने पर्यटकलगायत, मुख्य सडकमा हिँड्ने बटुवा, सर्वसाधारणलाई पनि समस्या छ । यस्तै, बिहानै ‘मर्निङवाक’ जाने धराने सर्वसाधारणलाई पनि समस्या छ । विशेषतः धरानमा मर्निङवाक गर्नेहरु धरान–१३ फुस्रेसम्म पनि पुग्छन् । तर सार्वजनिक शौचालय कहीँकतै नहुँदा पार्क पुग्ने पर्यटक, मर्निङवाक पुग्ने सर्वसाधारणले जहाँ पायो त्यहीँ शौच गरिदिँदा १३ नं. मा वातावरण समेत प्रदुषित बनेको स्थानीयबासी बताउँछन् ।
‘सार्वजनिक शौचालयको कुरा पहिलादेखि नै उठेको हो’, धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले भन्छन्, ‘तर यता बनाउने कि उता बनाउने भन्ने विषयमा खास निर्णय नहुँदा अहिलेसम्म शौचालय बन्न सकेको छैन ।’
जिरोप्वाइन्ट आसपासमा पनि कही जमीन नभएको र १३ नं. वडा कार्यालय छेऊमा शौचालय बनाउन भनेर आग्रह गर्दा ग्रामीण खानेपानी परियोजना नै लागेको थियो । परियोजनाबाट धरानमा दुईवटा शौचालय बनाउने प्रस्ताव स्वीकृत भएको थियो । एउटा १३ नं. वडा कार्यालय छेऊ र अर्को पब्लिक हाइस्कुलमा । ‘यहाँ सैलुनसहितको अपाङ्गमैत्री शौचालय बनाउन लागिपरेकै हौं तर अहिले त्यो शौचालय बीपी पार्कमा राख्नुपर्छ भनेर कुरा उठिरहेको छ’, उनले भने, ‘त्यही भएर पनि त्यो शौचालय बन्न सकेको छैन ।’
हाइवे केन्द्रित बजेटमा शौचालय राख्ने भनिएको तर अहिले त्यो शौचालय बीपी पार्कमा राख्ने भनिदिँदा शौचालय बन्न नसकेको उनको भनाइ छ । ‘ओशो ध्यान केन्द्रभित्र शौचालय निर्माण गर्ने भनिएको तर त्यहाँ शौचालय निर्माण गर्न नदिने भन्दै ओशो ध्यान केन्द्रले विरोधपत्र ल्याइदिएको छ’, उनले भने, ‘त्यहाँका स्थानीयले खानेपानीलाई असर गर्ने हुनाले पनि त्यहाँ शौचालय राख्न ठीक छैन भनेर स्थानीयले भनिरहेका छन् ।’
यसअघि सो ठाउँमा लाश डढाइने गरेको र त्यहाँ जनताले खानेपानीमा असर गरेको भन्दै विरोध गरेपछि त्यहाँ लाश जलाउन नदिने निर्णय भएको उनले बताए । ‘अहिले त्यहाँ शौचालय राख्दा खानेपानीमा असर गर्छ भन्दै स्थानीयले विरोध गर्न थालिसकेका छन्’, उनले भने, ‘त्यही भएर त्यहाँ शौचालय राख्न हुँदैन ।’ उनले हाइवे केन्द्रित शौचालय बनाउँदा मर्निङवाक गर्दै आउनेहरु, अन्य सर्वसाधारण, सवारी साधनका यात्रुलाई पनि सहज हुने बताए ।
उपमहानगरपालिकाका मेयर तिलक राईले भने बीपी पार्कमै पनि शौचालय आवश्यक रहेको बताए । ‘त्यहाँ पनि शौचालय आवश्यक नै छ, अहिले पनि दिनहुँ पर्यटक त्यहाँ पुग्छन्, दिनहुँ पर्यटक पुग्दा कहाँ शौच गर्ने भन्ने समस्या अहिले पनि छ’, उनले भने, ‘त्यहाँसहित अन्य ठाउँमा पनि सार्वजनिक शौचालय बनाउने भन्ने कुरा उठिरहेको छ, बनाऔं भनेर हामी लागिपरेका छौं ।’
धरान-१३ मै रक गार्डेनको योजना
प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट दिएपछि धरान–१३ मै रक गार्डेन बन्ने भएको छ । वडाध्यक्ष काफ्लेले बीपी पार्क छेऊछाऊमा रहेको खोलाको ढुंगालाई सदुपयोग गर्दै रक गार्डेन बनाइने बताए । ‘त्यही भएकै ढुंगाको आकृति कुँदेर रक गार्डेन बनाउँछौं,’ उनले भने । उनले १३ नं. वडामा तीन तहकै सरकारको लगानी भइरहेकोले पनि यस क्षेत्रलाई पर्यटकीय हब बनाउन सहज भइरहेको बताए ।