धरानः पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा फागुनदेखि गायन र सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ ।
८ औं संस्करणको ‘पूर्वाञ्चल सिङ्गीङ स्टार’ र तेस्रो संस्करणको मिस स्टेट–१ को अडिसन अघिल्लो वर्ष कोरोना कारण स्थगित भएको थियो ।
अघिल्लो वर्ष फागुनमै अडिसन पनि भएको र प्रतियोगिता भने स्थगित थियो । कार्यक्रम संयोजक भक्तिराज राईले अघिल्लो वर्ष फागुनमै पत्रकार सम्मेलन गरी कार्यक्रम गर्ने भनिएतापनि कोरोनाका कारण स्थगित भएको बताए । उनले प्रतियोगिता यही फागुनको दोस्रो साता धरानस्थित होटल स्टार पूर्वीमा अडिसन हुने जानकारी दिए । ‘प्रायः प्रदेश १ का सबै जिल्लामा अडिसन सम्पन्न भइसकेको छ, अब धरानमा पुनः अडिसन हुनेछ’, संयोजक राईले भने, ‘छुटेका कोही प्रतिभा भए धरानमा पुनः हुने अडिसनमा सहभागिताका लागि आह्वान गर्दछौं ।’
‘प्रदेश १ का सबै जिल्ला पुगेरै अडिसन लिएका छौं,’ उनले भने, ‘हाम्रो मुख्य उद्देश्य नै गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने हो ।’

उनका अनुसार गायनमा अन्तिम फाइनलका लागि १० जना र सौन्दर्य प्रतियोगितामा अडिसनबाट ३० जनालाई छनौट गरी बन्दसत्रमा राखिनेछ । गायनमा अडिसन राउण्डदेखि बिजेतासम्म ११ वटा गायन प्रस्तुत गर्ने पर्नेछ । गायन प्रतियोगितामा नेपाली गीत मात्र गाउनुपर्नेछ ।प्रतियोगिताको लागि १५ वर्षदेखि २५ वर्षसम्मका अविवाहित युवतीहरुले भाग लिन पाउनेछन् । प्रतियोगिताको अडिसनबाट छनौट भएका युवतीहरुलाई उनीहरुको व्यक्तित्व विकास, क्षमता विकासका सैद्धान्तिक तथा व्याहारिक ज्ञान प्रदान गर्नुका साथै धरानका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गराउने कार्यक्रम संयोजक राईले बताए ।
गायनतर्फको विजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, एक म्युजिक भिडियो तयार गर्ने अवसर र एकथान गिटार पाउनेछन् । यस्तै, एक वर्ष निःशुल्क संगीत सिक्ने अवसर प्राप्त गर्नेछन् । यसैगरी, दोस्रो र तेस्रोले क्रमशः नगद २५ हजार, १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना र ३ महिना निःशुल्क संगीत सिक्ने अवसर र सबैले एकथान गिटार पाउनेछन् । विद्यागत पुरस्कारतर्फ वेष्ट भोकल, वेष्ट डिस्प्लिन, वेष्ट परफमेन्स र वेष्ट पब्लिक च्वाइस अवार्ड प्रदान गरिने छ ।
यस्तै, मिस स्टेट १ बिजेताले स्कुटीसहित क्राउन र अवार्ड प्राप्त गर्नेछन् साथै म्युजिक भिडियोमा खेल्ने अवसर पाउने उनले जानकारी । यस्तै, बिजेताले प्लस टु वा अन्य सङ्कायमा ब्याचलर लेवलमा छात्रवृत्ति प्रदान हुने उनले जानकारी दिए । फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित क्राउन र अवार्ड प्राप्त गर्ने आयोजकको भनाई छ । यस्तै, विद्यागत पुरस्कारतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, वेष्ट स्माइल, वेष्ट फिगर, वेष्ट क्याटवाक, मिस चार्मिङ, मिस फोटोजेनिक र मिस एक्टिभ अवार्ड समेत प्रदान गरिनेछ ।
२०६९ सालमा स्थापना भएको केन्द्रले २०७० सालदेखि निरन्तर गायन प्रतियोगिता आयोजना गर्दै आएको छ भने सुन्दरी प्रतियोगिता ०७४ सालदेखि शुरु गरेको हो । गायनतर्फ हालसम्मका विजेताहरु तेह्रथुमका संगम चोङवाङ (२०७०), ताप्लेजुङकी प्रकृति थलङ (२०७१), भोजपुरकी सृजना तामाङ (२०७२), तेह्रथमका दिलेनबाबु लिम्बू (२०७३), भोजपुरका सुमन राई (२०७४), सुनसरीका पदमबहादुर मगर (२०७५) र गत वर्ष मोरङका सुमिन राई रहेका छन् । यस्तै, मिस स्टेट १ मा उदयपुरकी रमिला बस्नेत (२०१८), गत वर्ष धनकुटाकी रजनी तुम्सा लिम्बू (२०१९) विजेता बनेकी थिइन् । लुकेर रहेको प्रतिभालाई उजार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गदै आएको संयोजक राईले बताए ।
