बिर्तामोडः लाखौं ठगीको आरोपमा एक युवा पक्राउ परेका छन् ।
ठगी आरोपमा अर्जुनधारा–९ का २९ वर्षीय पंकज पौडेली विकलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि अनलाइनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै विभिन्न बैंकहरुको खाता नम्बर दिएर लाखौं ठगी गर्ने गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार विकलाई विभिन्न व्यक्तिको जाहेरीको आधारमा मुद्दा दर्ता भएपछि पक्राउ गरेको जानकारी दिए । उनलाई अपराध महाशाखा मीनभवन काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पौडेलीको साथबाट प्रहरी तीन लाख छपन्न हजार सात सय दश रुपैयाँ, पंकज पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताब, विनोद काफ्लेको नामको सवारी चालक अनुमतिपत्र, अनिल बस्नेत नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपि, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपि, उनको गोजीभित्रबाट सिमसहितको मोबाइल २, घरकोठामा रहेको दराजभित्रबाट दुई लाख आठ हजार दुई सय नगद, घर पछाडिको ग्वाली छेउमा रहेको गोवरको थुप्रोभित्रबाट कालो रंगको लेडिज झोलाभित्र नगद ८ लाख तीस हजार तीन सय पाँच रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।