धरानः आफ्नै साथीलाई छुरा हानी फरार रहेका युवा समातिएका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आइतबार राति साढे ८ बजे छुरा प्रहार गरी फरार युवालाई पक्राउ गरी ल्याइसकिएको जानकारी दिए । छुरा प्रहार गरी फरार धरान–३ जल्पारोडका वर्ष १८ का ईश्वर परियार रहेको उनले जानकारी दिए ।
परियारले धरान–१५ स्थित सदन रोडमा आइतबार करिब साढे ८ बजेतिर धरान–१५ का २० वर्षीय कैलाश मरिकमाथि छुरा प्रहार गरी भागेका थिए । उनको ढाडमा छुरा प्रहार भएको थियो । ‘आफ्नै साथीले पुरानो रिसइवीका कारण उनीमाथि छुरा प्रहार गरेर भागेको पाइयो, उनलाई पक्राउ गरेर ल्याइसकेका छौं’, डिएसपी बस्नेतले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
छुरा प्रहारबाट मरिक घाइते बनेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गराइएको थियो । तर धरानमा उपचार हुन नसकेपछि उनलाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ । ‘खासमा हिजो नै उनी गम्भीर घाइते थिए, उनको प्रतिष्ठानमा आकस्मिक कक्षमा उपचार भइरहेको थियो’, डिएसपी बस्नेतले भने, ‘भेन्टिलेटरमै राखेर उपचार भइरहेको थियो, उनको थप उपचारका लागि काठमाडौं लगिएको बुझिएको छ’, उनले भने ।
छुरा प्रहार भइसकेपछि प्रहरीले खोजी अभियान तीब्र बनाएको थियो । २४ घण्टा नबित्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । छुरा प्रहारबाट घाइते बनेका युवा धरान उपमहानगरपालिकामा कार्यरत सफाइ कर्मचारी हुन् ।
