धरानः धरान-५ देउरालीका घरपालुवा पशुचौपायालाई लाग्ने रोगबाट बचाउन निःशुल्क खोप दिन सुरु थालिएको छ ।
सम्भावित महामारी फैलिन नदिनका लागि क्लासिकल स्वाइन फिभर, पिपिआर र खोरेत रोग विरुद्ध खोप दिन सुरु गरिएको हो । मेयर तिलक राईले नगरस्तरीय निःशुल्क खोप सेवा कार्यक्रमको शुभारम्भ गरेका थिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको सहयोगमा धरान उपमहानगरपालिका पशुसेवा शाखाको आयोजनामा निःशुल्क खोप दिन सुरु गरिएको हो । ‘पशुको संक्रामक रोगको रोकथाम र कृषकहरुको क्षति न्यूनीकरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बाख्रा र बङ्गुरलाई खोप दिन सुरु गरिएको पशुसेवा शाखाले जनाएको छ । बाख्रालाई निःशुल्क खोप (पीपीआर) लगाउन सुरु गरिएको छ । सो वडामा चार जना प्राविधिक स्वंयमसेवक खटाइएको छ । उनीहरुलाई मेयर राईले खोप तथा औषधी सामग्री हस्तान्तरण गरेका थिए ।
धरान उपमहानगर प्रमुख राईले पशु शाखाबाट प्रदान गरिँदै आएको सेवाहरुको बारेमा किसानलाई सही ढंगबाट सल्लाह, सुझाव र परामर्श दिन आग्रह गरे । खोप लगाएपछि किसानहरु पूर्णरुपमा लाभान्वित हुनुपर्ने उनले बताए । ‘किसानको मनोविज्ञान पनि सकारात्मक हुनुपरयो, हामीले खोप लगायौ है, यो खोप यस्तो र छ, यसको असर यस्तो र छ भनेर फाइदा बेफाइदा छुट्याउन सक्नुपरयो’ उनले भने ।
आर्थिक विकास महाशाखा अन्र्तगतका पशु सेवा शाखाका प्रमुख महेन्द्रकुमार पैकराले खोप अभियानमा आधिकारिक व्यक्ति खटाइएको बताए । उनले आगामी वर्षदेखि खोप तथा रोगको बारेमा किसानहरुलाई प्रचार प्रसार गर्ने बताए ।
पशु सेवा शाखाका डाक्टर वीर्खबहादुर राईले धरानको पशुपालन बढी गरिने क्षेत्रलाई लक्षित गरी निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । धरानको पशुपालन गरिने सबै क्षेत्रमा यो अभियान सञ्चालन गरिने उनले बताए ।
