धरानः ‘नेपाल स्टार’को उपविजेता बनेका धरानका गायक सन्देश बम्जन लामाले भोट दिने धरानेलाई धन्यवाद भनेका छन् ।
बुधबार बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको किचनमा आयोजित पत्रकार सम्मेलनमा उनले भोट दिने र सहयोग गर्ने सबैलाई विशेष धन्यवाद भनेका छन् ।
उनले मिहिनेत, संघर्ष र धराने आमाबुबा, दाजुभाइ, दिदीबहिनको सहयोगको कारण नेपाल स्टारको उपविजेता बनेको बताए । आफू धरानमै जन्मिएको, हुर्किएको र यहीबाटै गीत–सङ्गीतको थालनी भएको बताए । उनले युरेका आवासीय माविमा पढ्दादेखि नै आफूमा सङ्गीतप्रतिको मोह जागेको सुनाए । ‘युरेका स्कुलमा कक्षा–६ मा पढ्दा ‘सेक्सनवाइज’ कम्पिटिसन भएको थियो, त्यतिबेला म प्रथम बन्दै कलम (फाउन्टेन पेन) पाएपछि ओहो म मा पनि गाउन सक्ने क्षमता रहेछ भन्ने लाग्यो, त्यसपछि अन्य कार्यक्रममा पनि गाउँदै गएँ, साथीभाइ, स्कुल होल टिमले हौस्याउन थाल्यो, थप आत्मविश्वास बढ्दै गयो,’ उनले भने, ‘त्यतिबेला मलाई नेपाली तारामा भिड्नुपर्छ भनेर कक्षा शिक्षकले फर्म पनि ल्याइदिनुभएको थियो, नेपाल आइडल सिजन टुमा भाग लिएँ, त्यसपछि यो प्रतियोगितामा भाग लिएर उपविजेतासम्म बनेर धरानको पनि नाम राख्न सफल बनेजस्तो लाग्छ ।’
धरानमै व्यवसाय गर्दै आएका उनले लकडाउनले गर्दा फ्रस्टेशनमा पनि पुरयाएको र जीवन नै जीवन ठप्प भएको लागेपनि अहिले गीत–संगीतमै जिम्मेवारी थपिएको महसुस गरेको बताए ।
कार्यक्रममा बराह ग्रुपका अध्यक्ष तथा गायक शिव लामिछानेले पनि सन्देशलाई धरानको चिनारी विश्वसम्म पुरयाउन सफल बनेको धारणा राखे । सन्देश बम्जन लामा जिताऔं अभियानका मूल समिति संयोजक रमेश राईले सन्देशले धरानेको सहयोग पाएको र यतिको सफलता हात पारेको बताउँदै उनले धरानकै गौरव बढाएको बताए । तस्वीरहरुः लक्ष्मण थापा

