बिर्तामोडः झापा कन्काइ नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु र चारजना घाइते भएका छन् ।
बुधबार दिउँसो साढे ३ बजे को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–००१ च०१६७ नम्बरको कार र प्र१–०१–०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार सुनसरी धरान-१६ का २८ वर्षीय चालक दीपक क्षत्री र सोलु पासाङ–१ का ३० वर्षीय दिलीप राना मगर गम्भीर घाइते बनेका थिए ।
घाइतेको बिएण्डसी अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको छ । कारमा सवार दिलीप राना मगरको श्रीमती ३० वर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० वर्षीय सुरेश मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी–२ का ३९ पर्षीय ज्ञानबहादुर कसाइ र मोटरसाइकल पछाडि सवार निजकै श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ घाइते भएका छिन् ।
घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक, ट्रक चालक मोरङ विराटनगर–१५ बस्ने प्रेमबहादुर वाइबा प्रहरीको नियन्त्रणमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।









