धरानः धरानको चर्चित वडास्तरीय अन्तर वडास्तरीय गोधुली फुटबल रनिङ कप यही आउँदो शनिबारदेखि शुरु हुने भएको छ ।
क्लबका अनुसार प्रतियोगिता धरान–१६ स्थित रंगशालामा हुनेछ । प्रतियोगिताको लागि सम्पूर्ण तयारी भइसकेको पनि उपाध्यक्ष सतिष केसीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल गत वर्षको विजेता उपविजेता धरानको वडा नं १६ र वडा नं ७ बीच हुनेछ । प्रतियोगितामा धरानको २० वटा वडाहरुमध्ये १९ वटा वडाको टिमले सहभागिता जनाउने केसीले बताए । उनका अनुसार २ नम्बर वडाले यसपटक सहभागिता जनाउने छैन ।
विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ भने दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । यस्तै, वेष्ट प्लेयरले ११ हजार १ सय ११ नगद पुरस्कार पाउनेछ । राइजिङ प्लेयर, वेष्ट डिफेन्डर, म्यान अफ दि म्याच, वेष्ट गोल किपर, वेष्ट कोच र वेष्ट स्ट्राइकरले जनही नगद ५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ भने हाइ स्कोररले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा कुल खर्च १३ लाख २८ हजार २ सय ७७ रुपैयाँ रहने क्लबले अनुमान गरिएको छ ।
क्लबका अध्यक्ष देशकुमार राईका जानकारी अनुसार कोरोना भाइरसको प्रकोपका कारण यसवर्ष गोधुली कप फुटबल प्रतियोगिता केही समय ढिला भएको जानकारी दिए ।