धरानः पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा भएको गायन र सौन्दर्य प्रतियोगितामा प्रतियोगी छनौट भएका छन् ।
धरानस्थित होटल स्टार पूर्वीमा अडिसन कार्यक्रम आयोजना भएको थियो । ८ औं संस्करणको ‘पूर्वाञ्चल सिङ्गीङ स्टार’ मा प्रदेश १ का विभिन्न जिल्लाका ४० जना जना प्रतियोगी छनौटमा परेको आयोजक संस्थाका अध्यक्ष भक्तिराज राईले जानकारी दिए । ७५ जना सहभागीमध्येबाट ४० जना छनौट गरिएको उनले जानकारी दिए ।
यस्तै, सौन्दर्य प्रतियोगिता मिस स्टेट सिजन-३ को धरान अडिसनबाट दुर्गा श्रेष्ठ (संखुवासभा), लेस्ली लिम्बू (धनकुटा), सम्झना राई (खोटाङ), स्वेता भुजेल (सुनसरी), सबिना राई (मोरङ), सुजाता राई (खोटाङ), झरना लिम्बू (धनकुटा), मिश्रा राई (भोजपुर), अम्बिका राई (उदयपुर), जमुना लिम्बू (ताप्लेजुङ) लगायत छनौटमा परेका छन् ।
कार्यक्रममा गायनतर्फ गायक भक्तिराज राई र दीपेन्द्र राई निर्णायक थिए भने सौन्दर्य प्रतियोगितातर्फ सञ्चारकर्मी, मोडल मेरिना तुम्सा लिम्बू, महिला सञ्जाल धरानकी कार्यवाहक अध्यक्ष सपना राई, सञ्चारकर्मी तिर्थ कार्की, मिस स्टेट सिजन २ की विजेता रजनी तुम्सा, फस्ट रनरअप स्यारोन सुब्बा निर्णायक रहेका थिए ।
८ औं संस्करणको गायन प्रतियोगिता र तेस्रो संस्करणको मिस स्टेट–१ को अडिसन अघिल्लो वर्ष कोरोना कारण स्थगित भएको थियो । अघिल्लो वर्ष फागुनमै अडिसन पनि भएको र प्रतियोगिता भने स्थगित थियो । कार्यक्रम संयोजक राईले अघिल्लो वर्ष फागुनमै पत्रकार सम्मेलन गरी कार्यक्रम गर्ने भनिएतापनि कोरोनाका कारण स्थगित भएको बताए ।
उनका अनुसार गायनमा अन्तिम फाइनलका लागि १० जना र सौन्दर्य प्रतियोगितामा अडिसनबाट १० जनालाई छनौट गरी बन्दसत्रमा राखिनेछ । गायनमा अडिसन राउण्डदेखि बिजेतासम्म ११ वटा गायन प्रस्तुत गर्ने पर्नेछ । गायन प्रतियोगितामा नेपाली गीत मात्र गाउनुपर्नेछ ।
यस्तै, सौन्दर्य प्रतियोगिताको लागि १५ वर्षदेखि २५ वर्षसम्मका अविवाहित युवतीहरुले भाग लिन पाउनेछन् । प्रतियोगिताको अडिसनबाट छनौट भएका युवतीहरुलाई उनीहरुको व्यक्तित्व विकास, क्षमता विकासका सैद्धान्तिक तथा व्याहारिक ज्ञान प्रदान गर्नुका साथै धरानका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गराउने कार्यक्रम संयोजक राईले बताए ।
गायनतर्फको बिजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, एक म्युजिक भिडियो तयार गर्ने अवसर र एकथान गिटार पाउनेछन् । यस्तै, एक वर्ष निःशुल्क संगीत सिक्ने अवसर प्राप्त गर्नेछन् । यसैगरी, दोस्रो र तेस्रोले क्रमशः नगद २५ हजार, १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना र ३ महिना निःशुल्क संगीत सिक्ने अवसर र सबैले एकथान गिटार पाउनेछन् । विद्यागत पुरस्कारतर्फ वेष्ट भोकल, वेष्ट डिस्प्लिन, वेष्ट परफमेन्स र वेष्ट पब्लिक च्वाइस अवार्ड प्रदान गरिने छ ।
यस्तै, मिस स्टेट १ बिजेताले स्कुटीसहित क्राउन र अवार्ड प्राप्त गर्नेछन् साथै म्युजिक भिडियोमा खेल्ने अवसर पाउने उनले जानकारी । यस्तै, बिजेताले प्लस टु वा अन्य सङ्कायमा ब्याचलर लेवलमा छात्रवृत्ति प्रदान हुने उनले जानकारी दिए । फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित क्राउन र अवार्ड प्राप्त गर्ने आयोजकको भनाई छ । यस्तै, विद्यागत पुरस्कारतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, वेष्ट स्माइल, वेष्ट फिगर, वेष्ट क्याटवाक, मिस चार्मिङ, मिस फोटोजेनिक र मिस एक्टिभ अवार्ड समेत प्रदान गरिनेछ ।
२०६९ सालमा स्थापना भएको केन्द्रले २०७० सालदेखि निरन्तर गायन प्रतियोगिता आयोजना गर्दै आएको छ भने सुन्दरी प्रतियोगिता ०७४ सालदेखि शुरु गरेको हो । गायनतर्फ हालसम्मका विजेताहरु तेह्रथुमका संगम चोङवाङ (२०७०), ताप्लेजुङकी प्रकृति थलङ (२०७१), भोजपुरकी सृजना तामाङ (२०७२), तेह्रथमका दिलेनबाबु लिम्बू (२०७३), भोजपुरका सुमन राई (२०७४), सुनसरीका पदमबहादुर मगर (२०७५) र गत वर्ष मोरङका सुमिन राई रहेका छन् । यस्तै, मिस स्टेट १ मा उदयपुरकी रमिला बस्नेत (२०१८), गत वर्ष धनकुटाकी रजनी तुम्सा लिम्बू (२०१९) विजेता बनेकी थिइन् । लुकेर रहेको प्रतिभालाई उजार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गदै आएको संयोजक राईले बताए । उनले भने, ‘हाम्रो मुख्य उद्देश्य नै गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने हो ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज



















