धरानः धरान-१७ स्थित श्री ज्वालामुखी माध्यमिक विद्यालयमा आगलागी भएको छ ।
यो स्कुल धरान–१७ को पटनालीमा पर्छ । आगलागीका कारण अहिलेसम्म केही खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले आगलागीको कारणबारे अहिलेसम्म केही खुल्न नसकेको बताए । ‘म अहिले यहीँ छु, अनुसन्धानकै क्रममा सोधपुछ जारी छ’, उनले भने, ‘भरेसम्ममा केही नयाँ कुरा खुल्नसक्छ ।’
आज राति दुई बजे आगलागी भएको प्रधानाध्यापक भरत खत्रीले जानकारी दिए । राति सबै निद्रामा रहेको बेलामा प्रधानाध्यापक बस्ने अफिसका झयालका शिशा पड्किएको आवाज आएपछि स्थानीयबासीले सबै स्कुलमा आगालागी भयो भन्दै निस्किएपछि थाहा पाएको उनले जानकारी दिए । अफिसकोठाबाट अर्को कोठामा आगलागी हुन नपाएको उनले जानकारी दिए । ‘सबैले थाहा पाएपछि गाग्रीमा पानी ल्याएर निभाउँदै थियौं, त्यसपछि धरान उपमहानगरपालिकाको दमकल पुगेर आगो नियन्त्रणमा लियो ।’
आगलागीबाट पुराना कागजातबाट सबै जलेको उनले जानकारी दिए । आफूले झोलामा बोकेर घर लगेको छाप र प्रधानाध्यापकको छापबाहेक सबै कागजात जलेको उनले जानकारी दिए । ‘२०५४ सालदेखि हालसम्म रहेका सबै अभिलेख, माइन्युट बुक, चेक, फर्निचरलगायत सबै जलेर खरानी भएको पाइएको छ’, उनले भने ।
यस्तै, अफिस कोठामा रहेको दुई थान ल्यापटप, तीनथान प्रिन्टर, सहायक भक्तविलाश पोखरेलले दराजमा राखेको ६० हजार रुपैयाँ, प्रधानाध्यापक खत्रीले दराजमा राखेको २२ हजार रुपैयाँ जलेर नष्ट भएको उनले जानकारी दिए ।
उनका अनुसार चेन गेट, अफिस पनि बन्द रहेको अवस्थामा आगलागी हुनु शंकास्पद रहेको बताए । ‘विद्युत सर्ट भएर आगलागी नभएको हुनसक्छ, हामीलाई केही व्यक्तिदेखि शंका छ’, उनले थपे, ‘स्कुलमा रहेको भरयाङ प्रयोग गरेको समेत पाइएको छ ।’ चारकोठे बिल्डिङको तल भरयाङ राख्ने गरिएको थियो ।
आगलागी हुँदै गर्दा मुख्य गेट, अफिस कोठाको ढोका उघ्रिएको अवस्थामा भने थिएन । ‘पछाडिपट्टि रहेको ढोकाका शिशा तोडेर आगलागी गराएको हुनसक्छ’, उनले भने, ‘सो स्थानमा आगलागी गराउन प्रयोग गरिएको बोतल र बोतलको बिर्को पनि भेटिएको छ, त्यस्तै, त्यहाँ पुग्न भरयाङ प्रयोग गरिएको समेत देखिएको छ ।’

प्रधानाध्यापक खत्री बस्ने अफिस कोठा ।